इजरायलमा मारिएका नेपालीकाे सम्झनामा भाेलि राष्ट्रिय शाेक, मृतकका परिवारलाई १० लाख राहत

काठमाण्डाै – इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई विमान पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले परराष्ट्र मन्त्रालयमार्फत इजराजयल सरकारसँग समन्वय गरी ज्यान गुमाएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउने पनि निर्णय गरेको छ । बैठकले इजरायल घटनाका बारेमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असर समेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेको छ ।

इजरायलमा गएकाे शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट ‘इन्टर्न’ मा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो ।

*यसअघि राष्ट्रिय शाेककाे घाेषणा हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ– सम्पादक ।

https://ujyaalonepalnews.com/archives/32150

Previous articleमन्त्रीपरिषद निर्णय: इजरायलमा निधन भएकाको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने
Next articleयसपालि दशैँमा पानी पर्छ कि पर्दैन ? यस्ताे छ माैसमविद्काे अनुमान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।