आज दिनभर काठमाडौं उपत्यकाको आकाश नखुल्ने

आज (मंगलबार) देशका अधिकांश पहाडी भेगमा आंशिक बदली भई पूर्वी पहाडका एक/दुई स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पूर्वी क्षेत्रमा अहिले न्यून चापीय क्षेत्रको प्रभाव परेको छ।

भारतको बंगालबाट भित्रिरहेको बादल र नेपालकै स्थानीय बादलको संयोजनबाट पूर्वमा मौसम बदली भएको र पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। ‘त्यस्तो ठूलो, आत्तिनुपर्ने खालको वर्षा हुने होइन,’ उनले भनिन्।

आज अन्य स्थानमा भने वर्षाको सम्भावना छैन। तर देशका पहाडी क्षेत्रका अधिकांश स्थानमा आज आंशिक (कहिले बादल, कहिले घाम) बदली हुनेछ।

काठमाडौं उपत्यकामा पनि आंशिक बदली हुने र दिनभर घाम लाग्ने सम्भावना नरहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्।

‘आज दिनभर काठमाडौं उपत्यकाको मौसम यस्तै धूम्म हुने देखिन्छ,’ उनले भनिन्, ‘आइसुलेटेड वर्षा (कहीं पानी पर्ने, नजिकै अर्काे ठाउँमा नपर्ने) हुने सम्भावना पनि देखिन्छ, तर त्यो सम्भावना एकदमै कम छ।’

भोलि र पर्सि वर्षा
भोलि (बुधबार)बाट भने पश्चिमी वायु भित्रिने भएकाले देशभरको मौसम बदली हुने सम्भावना छ। यसले बुधबार र बिहीबार देशभर प्रभाव पार्ने मौसमविद्ले बताएका छन्।

‘भोलि पश्चिमी वायु भित्रिँदै छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘भोलि देशभरका पहाडी क्षेत्रअन्तर्गत थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।’

पर्सि बिहीबारचाहिँ तराई क्षेत्रका पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्।

ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीहुँदै ग्रिस प्रवेश गर्न रोक

Previous articleमहरालाई सफाइ दिने फैसलाविरुद्ध सरकारले उच्च अदालतमा पुनरावेदन दिने
Next articleनिर्भयालाई बलात्कारपछि हत्या गर्ने चारै दोषीलाई मृत्युदण्ड दिन नयाँ ‘डेथ वारेन्ट’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।