७ माघ । टिकौली चौरमा आयोजना गरिएको रत्ननगर महोत्सवमा थारु समुदायको परम्परागत सीपवाट निर्माण सामग्री अवलोकनकर्ताहरुको रोजाईमा पर्न सफल भएको छ ।
थारु समुदायका महिलाहरुले परम्परागत सीपवाट तयार पारिएको विभिन्न सामग्री किन्नेहरुको भीड बढ्दो क्रममा छ । रत्ननगर महोत्सवको ७० नम्बर स्टलमा थारु महिलाहरुले आफ्नै सीपवाट तयार पारेका सामग्री विक्रीवितरणका लागि राखेको छ ।
बनजंगलमा पाइने बरुवाको प्रयोग बाट निर्माण गरिएको पेन होल्डर, खुत्रुके, टिम्याट, थाकलको पातवाट निर्माण गरिएको टोपी, हट म्याट, गमला लगायतका सामग्री विक्रीवितरणका लागि राखिएको छ ।
महिला उद्यम प्रर्वद्धनका लागि घरेलु तथा साना उद्योग कार्यालय चितवनले निशुल्क रुपमा स्टल उपलव्ध गराएपछि रत्ननगर वडा नं. १० मा रहेको न्यू अलडेज युनिक ह्याण्डस कलाले सो ठाउँमा थारु महिलाहरुको परम्परागत सीपवाट तयार पारिएको सामग्री विक्रीवितरण गरिरहेको जानकी चौधरीले जानकारी दिनुभयो ।
उहाँ न्यू अलडेज युनिक ह्याण्डस कलाको प्रमुख हुनुहुन्छ । उहाँका अनुसार चितवन जिल्लाभरवाट दिदि बहिनीहरुले तयार पारेको सामग्री प्रदर्शनसँगै विक्रीवितरणका लागि राखिएको छ । सामान्य मूल्यमा सामग्रीहरु विक्री भइरहेको उहाँले जानकारी दिनुभयो । स्थानीय दिदि बहिनीहरुले पनि खुब रुचाइरहेका छन उहाँले भन्नुभयो –‘विदेशीहरुले पनि यस्ता सामग्री किनेर लगिरहेका छन् । ’
जानकी चौधरीका अनुसार दैनिक ८ देखि १८ हजार सम्मको यस्ता सामग्री महोत्सवमा विक्री भइरहेको छ । सुरुमा प्रदर्शनी मात्रै भएपनि हुन्छ भन्ने उद्देश्यले स्टल राखेको बताउँदै चौधरीले भनिन अहिले यो बाट राम्रो आम्दानी समेत भइरहेको छ ।
उसो त जानकीको स्टलवाट यस्ताखालका सामग्री विक्रीवितरण मात्रै भएका छैनन् ।
ठूला ठूला होटल, रिसोर्ट तथा पार्कहरुका लागि धेरै धेरै परिणामा सामग्री बनाउने अर्डर समेत भएको छ । ’थारुहरुको टिपिकल होटल तथा लजसँगै रिसोर्टमा राख्नका लागि थुर्पै अर्डरहरु आएका छन’ चौधरीले सुनाउनुभयो ।
थारुहरुले परम्परागत रुपमा यस्ता खालका कयौं सीप जानेको भएपनि आधुनिकताका कारण नयाँ पुस्ताले यस्ताखालको सामग्रीको महत्व नबुझेको उहाँको भनाई छ । नयाँ पुस्तालाई सीप पुस्तान्तरणसँगै यसको महत्व बुझाउन सके यसले धेरै कुरामा फाइदा पुग्ने उहाँ बताउनुहुन्छ ।
यस्तैखालको सीपको विकास, संरक्षण र प्रर्वद्धनका लागि थारु आयोगको आर्थिक सहयोगमा परिदृष्य नेपालले सौराहामा एक महिने सीप मूलक तालिम आयोजना गरेको थियो । तालिममा सहभागीहरुले बनाएको सामग्री समेत महोत्सवमा विक्री वितरण भइरहेको उहाँले बताउनुभयो ।

