Home चितवन सेरोफेरो नझुक्किनुस ट्रक चढेका हात्ती नेपालका होइनन्, कतार जाने हात्ती अझै सौराहामै छन्

नझुक्किनुस ट्रक चढेका हात्ती नेपालका होइनन्, कतार जाने हात्ती अझै सौराहामै छन्

अहिले सामाजिक सन्जालमा हात्ती ट्रकमा चढेको एउटा भिडियो भाइरल छ । त्यो भिडियोमा हात्ती एउटा टुलमा टेकेर ट्रकको ट्रलीमा उक्लिएको देखिन्छ ।

धेरै सामाजिक सन्जाल प्रयोगकर्ताले त्यो भिडियोलाई नेपालबाट कतार पठाउन लागिएको हात्ती यही हो भन्दै सेयर गरिरहेका छन् ।

तर त्यो सत्य भने होइन । मंगलबार काठमाडौं आएका कतारका राजा शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएलगत्तै उनीसँगै हात्ती पनि पठाइयो भनेर सामाजिक सन्जालमा गलत प्रचार भइरहेको छ ।

जबकी कतार पठाउने भनिएका हात्ती चितवनको सौराहास्थित खोरसोरमै छन् । केही अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया पूरा गर्न बाँकी नै भएकाले ती हात्तीलाई कतार पठाउन केही दिन अझै लाग्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले प्राविधिक र प्रशासनिक विषय मिलाउनुपर्ने भएकाले नेपालका हात्ती कतार पठाउन समय लाग्ने बताए । उनले भने, ‘हात्ती पठाउने भनेको कसैलाई मुठ्ठीदान गरेजस्तो होइन, यसका आफ्नै प्रक्रियाहरु छन्, ती पूरा गर्न बाँकी छ । प्रक्रिया पूरा भएपछि हात्तीको स्याहारसुसार, उपचार, मोनिटरिङ लगायतका सबै सिस्टमसहित कतारलाई ह्याण्डओभर गरिने छ ।’

उनका अनुसार दुर्लभ वन्यजन्यु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) अनुसार त्यसको ओसारपसारका लागि सम्झौता र साइटिस अनुमति चाहिन्छ । तर हात्ती लेन–देन गर्नका लागि साइटिस अनुमतिपत्र आइसकेको छैन ।

Previous articleतासको खालबाट रत्ननगरमा आठजना पक्राउ
Next articleआफै चढेको बसले ठक्कर दिँदा चितवनमा एक तीर्थयात्रीको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।