कालिकामा कानुनी सचेतना कार्यक्रम

उज्यालो नेपाल। चितवन जिल्ला अदालत बार एसोसिएसनको आयोजनामा कालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

कालिका नगरपालिकाका विभिन्न टोलविकास संस्थाका प्रतिनिधि र विद्यार्थीहरूको लागी नगरपालिका सँगको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

चितवन बार स्थापना भएको ५० औं वर्ष पुगेको अवसरमा बारले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाइरहेको छ।

सोही कार्यक्रम अन्तर्गत चितवनका सातै पालिकामा कानुनी सचेतना कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा अधिवक्ताहरु बलराम पौडेल र प्रियंका थापाले बालविवाह, बैंकिङ कसुर, लागुऔषध, आत्महत्या दुरुत्साहन लगायतका विषयमा सहभागीहरुलाई कानुनी सचेतना प्रदान गरेका थिए।

चितवन बारका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिका नगर उप प्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चूडामणि शर्मा गौतम, वडा नं. ४ का वडाध्यक्ष मकरमान श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकाल, वरिष्ठ लेखा अधिकृत ऋषि कडुवाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष श्रेष्ठले ‘कानुनको अज्ञानता क्षम्य नहुने’ भन्दै कानुनको विषयमा सम्पूर्ण नागरिकहरुलाई सचेत बनाउन कार्यक्रम को आयोजना गरिएको बताए ।

कार्यक्रमको सञ्चालन चितवन बार कार्यसमिति सदस्य अधिवक्ता सुनिता अधिकारीले गरेकी थिइन्।

Previous articleभरतपुर महानगर स्वास्थ्य क्षेत्रमा नयाँ “हब” : प्रधानमन्त्री प्रचण्ड
Next articleप्रधानमन्त्री र ५ पूर्वप्रधानमन्त्री उभ्याएर भरतपुर भ्रमण वर्षको शानदार उद्घाटन (लाइभ)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।