रत्ननगरका तीनवटा वडामा पिठुवा खानेपानीको सचेतना कार्यक्रम

उज्यालो नेपाल। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले रत्ननगरका तीनवटा वडामा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

संस्थाले आफ्नो सेवाक्षेत्र अन्तर्गतका तीनवटा वडाहरू १४,१५ र १६ का ४९ वटा टोलविकास संस्थाका झण्डै २०० जना प्रतिनिधिहरूलाई सचेतना प्रदान गरेको हो।

मंगलबार वडा नं. १६ बाट सुरु भएको सचेतना कार्यक्रम हिजो बुधवार वडा नं. १४ र आज विहिवार वडा नं. १५ मा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले, पछिल्ला दिनहरुमा गरिएको धारा अनुगमनको क्रममा ३० प्रतिशत भन्दा बढी उपभोक्ताहरुले खानेपानीको धाराको सरसफाईमा ध्यान नदिएको पाईएको जानकारी दिए। त्यसैले खानेपानीको मिटर र धारा वरपर फोहोर पानी जमेका कारण महामारी फैलनसक्ने अवस्था देखिएकाले सचेतना कार्यक्रम गरिएको उनले बताए ।

विहीबार वडा नं . १५ मा आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष आशिक तामाङले सबै उपभोक्ता सकारात्मक भएर सरसफाई लगायत कार्यमा सहयोग नगर्ने हो भने माहामारीजन्य रोगका कारण ठूलो क्षति व्यहोर्नुपर्ने जोखिम रहेको बताए।

कार्यक्रमका सहभागीहरुलाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका पुर्व ईन्जिनियर तथा चितवन जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र अभियानका संयोजक शिवराज न्यौपाने र स्वास्थ्यका लागि पानी र सरसफाई विज्ञ निशा प्रजाले सहजीकरण गरेका थिए ।

संस्थाका सचिव रुपेश तिवारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष तुलबहादुर रायमाझीले सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

वि. सं.२०६७ सालमा स्थापना भएको संस्थाले आफ्ना ४३०० उपभोक्तालाई ११० किमी पाईपलाईन मार्फत दैनिक ३५ लाख लिटर पानी वितरण गरिरहेको छ।

Previous articleबुद्ध एयरको एकाधिकार तोड्दै भरतपुरबाट उडान सुरु गर्ने श्री एयरलाइन्सको तयारी
Next articleसौराहामा पर्यटन विकासको लागि अन्तर्किया
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।