खानेपानी मन्त्रीलाई पिठुवा खानेपानीको छ बुँदे ज्ञापनपत्र

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १५ मा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले संघिय खानेपानी मन्त्री प्रदिप यादवलाई छ बुँदे ज्ञापनपत्र बुझाएको छ।

खानेपानीको निरीक्षण गर्न पिठुवा खानेपानी आईपुगेका मन्त्री यादवलाई शनिबार एक कार्यक्रम बीच संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा खानेपानी संस्था जस्तो सेवामुलक संस्थाको आम्दानीमा लगाईएको आयकर हटाई साबिककै व्यवस्था कायम हुनुपर्ने, विधुत महसुलमा छुट दिनुपर्ने, विभिन्न तहका सरकारी निकायबाट विकासनिर्माणको कार्य संचालन गर्दा हुने खानेपानी पाईपलाईनको क्षतिको पुनर्निमाण सोहि आयोजना मार्फत गराउनुपर्ने, पिठुवा खानेपानीमा पानी जाँच गर्ने प्रयोगशाला स्थापना गर्नुपर्ने, जिर्ण भएको झन्डै ३५ किमी पाईपलाईन निर्माणको लागी बजेटको बन्दोबस्त तत्काल गर्नुपर्ने जस्ता विषय समेटिएका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले पिठुवा खानेपानीले उठाएका विषयलाई आफुले गम्भीर रुपमा लिएर तत्काल कार्ययोजना बनाउने बताए । पिठुवा खानेपानीले संचालन गरेको कुनैपनि आयोजनालाई बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले चालु आर्थिक वर्षमै रकमान्तर गरेर भएपनि पिठुवा खानेपानीलाई थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

Previous articleमुग्लिङ–नारायणगढ सडकमा अर्को दुर्घटना; सडक छेउको बारले छेकेर त्रिशूलीमा खस्नबाट जोगियो
Next articleकालिका कभर्डहलमा प्रथम मेयरकप व्याडमिन्टन प्रतियोगिता हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।