मुग्लिङ–नारायणगढ सडकमा अर्को दुर्घटना; सडक छेउको बारले छेकेर त्रिशूलीमा खस्नबाट जोगियो

९ भदौ, काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनापछि बाटो एकतर्फी सन्चालनमा छ ।

Previous articleटिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय
Next articleखानेपानी मन्त्रीलाई पिठुवा खानेपानीको छ बुँदे ज्ञापनपत्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।