रत्ननगरमा स्याल आतंक; स्यालको आक्रमणमा तीनजना घाईते (भिडियो)

भिडियो हेर्न तल अन्तिममा जानुहोस्। 

उज्यालो दर्पण- रत्ननगरमा स्यालको आतंक फैलिएको छ । स्यालको आक्रमणबाट रत्ननगरको वडा नं. १३ मा गतसाता तीनजना घाईते भएका छन् । साँझमा बाटोमा हिंडिरहेका र बिहान मर्निंगवाक गरिरहेका व्यक्तिहरु स्यालको आक्रमणमा परेका हुन् ।

सो वडामा स्यालले आधा दर्जन पशुचौपायालाई समेत टोकेको छ। स्यालको टोकाईबाट रेबिज संक्रमणहुँदा वडामा एउटा गाई समेत मरेको वडा नं. १३ का वडाध्यक्ष पोटबहादुर घिमिरेले बताए । स्यालले कुकुरलाई आक्रमण गर्दा कुकुरहरुमा पनि रेबिजको जोखिम बढेको छ ।

रत्ननगरकै वडा नं. १० मा रेबिजरोगको कारण गतसाता एउटा भैंसी मरेको रत्ननगर नगरपालिकाका पशु प्राविधिक सुन्दर बस्नेतले बताए । उनका अनुसार वडा नं. १३ र १४ मा घरमा पालिएको कुकुरमा समेत रेबिजको संक्रमण देखिएको छ ।

रेबिजको संक्रमण फैलिन नदिन रत्ननगरमा रेबिज विरुद्धको खोप अभियान नै संचालन गरिएको छ । सो अभियानमा हाल सम्म १८८५ कुकुरमा खोप लगाईएको हो । रत्ननगरका कृषि तथा पशुपंक्षी शाखा प्रमुख प्रविन लामाका अनुसार वडा नं. ८ देखि १६ सम्मका सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई खोप लगाईएको छ। अन्य वडाहरुमा समेत खोप अभियान संचालन भईरहेको छ ।

रत्ननगर र कालिकाको सिमाना हुँदै रत्ननगर प्रवेश गर्ने बुढीकुलोको दायाँबायाँ बढ्दै गएको झाडीका कारण त्यसको आसपासको बस्तीमा स्याल आतंक बढेको हो । कयरखोलालाई नियन्त्रण गरेर बुढीकुलोमा आउने पानी बन्द गरिएपछी सो क्षेत्रमा झाडी बढेको छ ।

सो झाडीका कारण देउँसो पनि मानिस हिँडडुल गर्न डर पैदा भएको स्थानीयहरुले बताएका छन् । एकान्त र झाडीका कारण सो क्षेत्र दुर्व्यसनीहरुको अड्डा समेत बन्दै गएको छ ।

 

 

Previous articleचितवन समाज युकेद्वारा नेता पौडेललाई स्वागत
Next articleरत्ननगर ९ को घरदैलो, करदातालाई गराईयो सचेत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।