अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल बन्दै नेपाली महिला फुटबलर

घरेलु मैदानमा प्रभाव जमाएका सीमित खेलाडीले मात्र अन्तर्राष्ट्रिय फुटबलमा पनि आफूलाई स्थापित गर्न सफल भएका छन्।

औँलामा गन्न सकिने केही यस्ता नेपाली खेलाडी छन्, जसले विदेशी लिगमा पनि उत्तिकै राम्रो छाप छोड्न सफल भएका छन्।

विदेशी भूमिमा चम्केका नेपाली खेलाडीमा किशोर क्रिकेटर सन्दीप लामिछाने, फुटबलर किरण चेम्जोङ र रोहित चन्द अग्रपंक्तीमा आउँछन्।

यसअघि पूर्वक्याप्टेन हरि खड्का, नेपालका पुर्व स्टारडिफेन्डर पारस चौधरीले पनि भारतको प्रतिष्ठित आइलिग खेलिसकेका छन्। उपेन्द्रमान सिंह र कृष्ण थापाले पनि विदेशी लिगको अनुभव बटुलेका छन्।

विदेशी क्लवहरुमा जमिरहेका केही पुरुष खेलाडीहरुको पदचाप पछ्याएका महिला फुटबलर पनि विदेशी क्लवबाट खेल्न थालेको छोटो समयमैं ती लिगमा चम्किसकेका छन्।

विदेशबाट पहिलो पटक व्यवसायिक फुटबल खेल्ने नेपाली फुटबलर हुन्– राष्ट्रिय टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत।

samba srivumi 1

लगातार २ संस्करण भारतीय महिला लिग खेलेका उनीहरुले यसअघि माल्दिभ्समा भएको फुटसलमा पनि सहभागी भएका थिए। नेसनल फूटबल लिगलाई नाम परिवर्तन गरी आई–लिग बनाइएको भारतको प्रतिष्ठित प्रतियोगितामा उनीहरु लगातार २ वर्ष खेलेका हुन्।

गतवर्ष दुवैजना त्यहाँको सेथु एफसीबाट खेलेकोमा यस वर्ष बस्नेतले सोही क्लवबाट निरन्तरता दिइन् भने भण्डारीलाई अर्को क्लव गोकुलम केरलाले तानेको थियो।

साता भारतमा सो लिग खेलेर स्वदेश फर्किएपछिको कुराकानीमा भण्डारी र बस्नेतको निष्कर्ष थियो– २ सिजन खेल्दा धेरै कुरा सिक्न पाइयो। बलिया टोलीसँग मैदानमै भिड्दा महत्वपूर्ण कुराहरु सिकिँदो रहेछ।’

राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा फुटबल क्षेत्रमा साम्बा नामले चर्चित छन्। ९ नम्बरको जर्सीमा मैदान उत्रने साम्बाको आक्रामक खेल शैली सँधै चर्चाको विषय बन्छ। फरक हेयर स्टाइल उनको अर्को पहिचान हो। खेल र शैली दुवैका कारण दर्शकको ध्यान आफूतर्फ तान्नसक्ने सीमित महिला फूटबलरमध्येमा उनी पर्छिन्।

महिला फुटबल टोलीका पुर्वप्रशिक्षक हरि खड्का पनि साम्बालाई दक्षिण एशियाकै उत्कृष्ट स्ट्राइकर मान्छन्।

विदेशी भूमीमा त्यहाँका क्लवहरुसँग खेलेपछिको अनुभवका आधारमा उनी भन्छिन्, ‘यहाँका ३ वटा विभागीय टिम मात्रै नेपालका बलिया टोली हुन्। अरु टोलीले प्रतिस्पर्धा गर्न सक्दैनन्।’

उनलाई भारतका क्लबहरु सबै एकसेएक लाग्यो। सबै टोली उस्तै बलिया। ‘त्यहाँ खेल निकै प्रतिस्पर्धात्मक हुने गर्छ। मलाइ पनि टोलीमा सेट हुन केहि समय लाग्यो,’ उनले आइ–लिग अनुभव सुनाइन्। ‘१–२ वटा खेलमा अलिक गाह्रो भएको थियो। भारतीय लिगमा खेल्दा पनि नेपाल र भारतसँगै खेले जस्तै हुने।’

उनीहरु जसरी भारतका प्रतिष्ठित खेलमा भाग लिएर अनुभव बटुल्नुका साथ खेल शैली र सीप सिकिरहेका छन्, त्यसबाट नेपाली फूटबल धनी हुने र अरु उदीयमान खेलाडीलाई प्रेरणा मिल्ने भण्डारीले बताइन्।

samba india

अबको सपना युरोपियन लिग
युरोपियन लिग खेल्नु उनको अबको सपना हो। त्यसो त आइ लिगलाई पनि उनले निरन्तरता दिइरहने छिन। भारतमा अन्य खेलाडीलाई भन्दा नेपालीलाई धेरै अवसर रहेको उनको अनुभव छ।

पछिल्लो समय भुटान, बगंलादेश लगायतका दक्षिण एसियाली टोलीले राम्रो प्रगति गरिरहेको बताउँदै ती टोलीसँग पराजित गर्नका लागि नेपाली टोली अझ बलियो बन्नुपर्ने उनले बताइन्।

‘नेपाललाई एउटा अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउने सपना छ। यसको लागि पहिलेका दिदीहरुले पनि धेरै मेहनत गर्नुभयो, तर सक्नुभएन। त्यो सपना हामीले पुरा गर्नुपर्छ,’ उनले भनिन्।

भण्डारी र बस्नेत दुवैको नजरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल र प्रिति राई निकै सम्भावना भएका खेलाडी हुन्। ‘मेहनत गरे भने यिनीहरुले हाम्रो स्थान लिन सक्छन्’ भन्नेमा उनीहरु दुवैको एक मत देखियो।

गत संस्करणमा भारतीय क्लव सेथु एफसीलाई च्याम्पियन बनाउने क्रममा १५ गोल गरेकी सावित्राले यो वर्ष १९ गोल गर्दै सो लिगमै सर्वाधिक गोलकर्ता बनिन्। लिगमा साम्बाले ७ खेलमा १६ गोल गरिन् भने छनोट चरणको एक खेलमा ह्याट्रिक गरेकी थिइन्।

सर्वाधिक गोल गर्दै उनले भारतीय १ लाख रुपैयाँ पुरस्कार पाईन् भने लिग चरणका ३ खेलमा प्लेयर अफ दि म्याच समेत बनिन्।

‘यो एउटा ठुलो उपलब्धी हो। विदेशी खेलाडीको हिसाबमा सायद मैले अरु अवार्ड पाउने थिइन। त्यसैले पनि हाइ स्कोरर बन्छु भन्ने लक्ष्य लिएको थिएँ,’ उनले भनिन्।

samba anita medal

भण्डारीसँगै लगातार २ संस्करण भारतीय लिग खेल्ने अर्की नेपाली महिला खेलाडी हुन्– राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत। पहिलो पटक सेथु एफसीमा खेल्दा टोलीलाई च्याम्पियन बनाएकी अनिताले यो संस्करण पनि सेथु नै रोजिन्।

डिफेन्डिङ च्याम्पियन सेथु यो पटक सेमिफाइनलभन्दा अघि बढ्न सकेन। समुह चरणको उपविजेताको रुपमा सेमिफाइनल पुगेको सेथुका लागि उत्कृष्ट ३ गोल अनिताकै पासमा गरिएको थियो।
विभागीय एपीएफबाट करिब ६ वर्षदेखि सँगै खेलिरहेका अनिता र सावित्राले अन्तर्राष्ट्रिय मैदानमा समेत राम्रो तालमेलका साथ लय समाइरहेका छन्।

अक्षर नचिनेर महिला शौचा’लय छिरेका जुँगेबहादुरलाई पढ्ने इख

Previous articleनेपाल राष्ट्र बैंकको १७ औं गर्भनर बन्न पाँच जनाको दौडधुप
Next articleसवारी ज्यान मुद्दामा फरार प्रतिवादी २१ वर्षपछि समातिए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।