वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

काठमाडौं । चक्रपथ सुधारको दोस्रो चरणको आयोजनाअन्तर्गत कलंकीदेखि चावहिल-धोबीखोलासम्मको सडक विस्तारका लागि साइट खाली गराउन रूख काट्ने काम सकिएको छ । सडक विस्तारका लागि २ हजार बढी रूख कटान भएको छ । कलंकीदेखि नयाँ बसपार्कसम्म बिजुलीको पोल हटाउने कामसमेत सकिएको छ भने बाँकी भागमा तार भूमिगत गर्ने काम भइरहेको छ ।

चक्रपथ सुधार आयोजना प्रमुख अमृतमणि रिमालले वैशाखसम्म साइट खाली गरेर निर्माण अघि बढाउने गरी काम भइरहेको बताए । साइटअन्तर्गतका संरचना खाली भएपछि मात्र चिनियाँ निर्माण कम्पनीले चक्रपथ विस्तारको दोस्रो चरणको काम थाल्नेछ ।

अहिले सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको आयोजनाले जनाएको छ । साइट खाली गर्ने क्रममा स्वयम्भूको चैत्य भत्कने भएको छ । यस्तै, महाराजगन्जस्थित ४० वटा घर भत्काउनुपर्ने भएको छ । आयोजना प्रमुख रिमालले त्यससम्बन्धी सरकारले निर्णय गरिसकेको बताए । त्यस क्षेत्रमा जग्गा अधिग्रहण अघि बढाउन मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई जिम्मेवारी दिएको छ ।

सीतापाइलास्थित नेपाली सेनाको ब्यारेकको पर्खालसमेत सार्नुपर्ने भएको छ । ३१ मिटर आवश्यक पर्नेमा २५ मिटरमा हाल पर्खाल रहेकाले ६ मिटर सार्नुपर्ने भएको हो । त्यसका लागि नेपाली सेनाले अहिले हालको पर्खाल भित्रपट्टि पर्खाल निर्माणको काम गरिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार खानेपानीको पाइप सार्न ठेक्का सम्झौताको काम अघि बढेको छ । सो कामका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २५ करोड विनियोजन भएको छ । कोटेश्वर–कलंकी सडक विस्तार गरेको चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीबाट महाराजगन्जसम्मको सडक विस्तार गर्न लागेको हो । चीन सरकारले नै यस सडकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको हो ।

कोटेश्वर–कलंकी सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण सुरु गर्नुअघि नै साइट खाली गर्ने काम भएको हो । अब विस्तार गरिने सडकअन्तर्गत बालाजु चोकमा ‘ओभर पास’ र महाराजगन्ज चोकमा ‘अन्डर पास’ निर्माण गरिने योजना छ । आठ लेनको सडकमा चार लेन अन्डरपासमा र ४ लेन माथिल्लो सडकमा हुनेछ ।

महाराजगन्ज चोकमा कलंकी चोकमा जस्तै अन्डर पास निर्माण हुने भएको हो । बालाजुमा निर्माण हुने ‘ओभर पास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । पैदल यात्रुलाई सडक पार गर्न प्रत्येक एक–एक किलोमिटरमा एउटा अकासे पुल निर्माण गरिनेछ । अहिले नयाँ बसपार्कमा रहेको पुल हटाइनेछ ।

The post वैशाखपछि चिनियाँ टोलीको जिम्मामा appeared first on Rajdhani Daily News.

फेसबुक लाईभ गरेर २४ वर्षिया एलिशाले गरिन् आ’त्मह’त्या

Previous articleमन्दिर निर्माण समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
Next articleआईलिगको विजयोत्सव मनाउन सावित्रा भारत प्रस्थान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।