चितवन दुर्घटना अपडेट: मृतकको संख्या ७ पुग्यो। को को परे? हेर्नुहोस् पूरा विवरण

Click Image

चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ स्थित पूर्व-पश्चिम राजमार्गको डडुवामा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान १०:१५ बजे ठोक्किँदा यो दुर्घटना भएको हो।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ। घाइतेहरूलाई भरतपुर अस्पताल, एलाईभ अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।

भरतपुर सरकारी अस्पतालमा मृत्यु हुनेहरूमा मकवानपुर हटिया-३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा-५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी १८/१९ र २४/२५ वर्षीया दुई महिला, २२/२३ वर्षीय पुरुष, ३०/३५ वर्षीया गर्भवती महिला र ३५/४० वर्षीय पुरुष रहेका छन्।

एलाईभ अस्पतालमा उपचाररत घाइतेहरूमा मकवानपुरका सक्षम थापा (१६), सिंहबिर घलान (३२), विष्णु लम्साल (३१) र गंगा घलान (३४) छन्। पुरानो मेडिकल कलेजमा झापा गौरादह-९ की सुशीला बराल (६५), उमा बराल (६७), कञ्चनपुर बेलौरी-४ का वीरबहादुर जैसी (४८) र रुकुम पश्चिम आठबिस्कोट-९ का सन्देश ओली (३०) को उपचार भइरहेको छ। नयाँ मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ, जसको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमा दुवै सवारी साधन रहेकाले दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ। प्रहरीले क्रेनको सहायताले बाटो खुलाउने प्रयास गरिरहेको र डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको जनाएको छ।

Previous articleपूर्वीचितवनमा भीषण सवारी दुर्घटना; पाँच जनाको ज्यान गयो
Next articleभद्रकाली माविमा नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।