काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभावका कारण भारतले पारासिटामोलसहित २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ । अब बजारमा औषधि अभाव खड्किने चिन्ता उपभोक्तामा बढेको छ । तर, औषधि व्यवस्था विभाग भने औषधि अभाव नखड्किनेमा विश्वस्त देखिएको छ । नेपाली बजारमा पर्याप्त मात्रामा औषधि रहेको भन्दै अभाव नखड्किने विभागले जनाएको छ ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले औषधि आयातकर्ता र औषधि उत्पादक संघलाई औषधिको विवरण जानकारी गराउन आग्रह गरिएको बताए ।
उनले भने, ‘तीन महिनासम्म अभाव खड्किँदैन भनेर जानकारी आइसकेको छ । केहीले औषधिको मौज्दात विवरण जानकारी गराउनुभएको छ ।’
औषधि आयातकर्ता संघ र नेपाल औषधि उत्पादक संघले कुनै पनि औषधि अभाव नखड्किने जनाएका छन् । औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालका अनुसार चालू आवमा कुनै पनि औषधि अभाव हुँदैन । उनले भने, ‘यो आर्थिक वर्षमा कुनै पनि औषधिको अभाव खड्किँदैन र औषधिको मूल्य पनि बढाउँदैनौं ।’
औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यका अनुसार तीन–चार महिना पुग्ने गरी औषधि मौज्दात राखिएको छ । उनले भने, ‘कुनै पनि औषधि व्यवसायीले अप्राकृतिक रूपमा औषधि स्टकमा नराखौं । चीनले पनि औषधिका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न थालिसकेको छ ।’
यस्तै, औषधि व्यवस्था विभागले आइतबारसम्म औषधि आयातकर्तालाई गोदाममा भएको औषधिको विवरण पेस गर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणले मुलुक संकटमा फस्न सक्ने र त्यस समयमा हुने अभावको सामना गर्न यस्तो निर्णय लिनुपरेको भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । सरकारले तोकेको २६ प्रकारका औषधि निर्यात गर्नुपूर्व सरकारसँग अनुमति लिनुपर्नेछ ।
आयात रोक लगाउन भनिएका औषधिमा पारासिटामोल, टिनिडाजोल, मेट्रोनिडाजोल, एसाइक्लोभिर, भिटामिन बी वान, भिटामिन बी १२, प्रोगेस्टेरोन, क्लोराम्फेनिकोल, इरिथ्रोमिसिन, नियोमाइसिनलगायत छन् ।
सरकारले विभिन्न औषधि र कच्चा पदार्थको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै भारतले विभिन्न औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।
किन खड्किँदैन औषधि अभाव ?
व्यवसायीले औषधि अभाव हुन नदिने बताएका छन् । खुद्रा व्यापारीले गोदाममा कम्तीमा एक महिनाका लागि पुग्ने औषधिहरू स्टक राखेका हुन्छन् । होलसेलरले पनि डेढदेखि दुई महिनासम्म पुग्ने औषधि भण्डारण गरेका हुन्छन् ।
आयातकर्ताले कम्तीमा दुई–तीन महिनासम्मका लागि औषधि भण्डारण गरेका हुन्छन् । आयातकर्ता संघका महासचिव आचार्यले अप्राकृतिक रूपमा औषधिहरू भण्डार नगर्न आग्रह गरे । उनले भने, ‘कम्तीमा चार महिनाका लागि पुग्ने औषधि मौज्दात छ । औषधिको अभाव हुन्छ भनेर शंका नगर्नुहोस् ।’
The post कोरोना भाइरसको प्रभाव औषधिमा, भारतले २६ प्रकारका औषधि आयात रोक्यो appeared first on Rajdhani Daily News.
दुबई जानको लागी GDRFA अप्रुभल कसरी लिने? के के कागजात चाहिन्छ? सम्पूर्ण जानकारी


