अब बैंकमा सुन राख्दा ब्याज पाइने

काठमाडौं । सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यो विषयमा परिपत्रसमेत गरिसकेको छ ।

केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप योजना सुरु गरेको हो । योजनामा सामेल हुन अर्थात् सुन निक्षेप गरी ब्याज प्राप्त गर्न भने २५ ग्राम सुन जम्मा गर्नुपर्ने हुन्छ । साढे दुई तोलाभन्दा बढी जम्मा गरेपछि मात्र बैंकहरूले ब्याज दिनेछन् । यसका लागि सुनको शुद्धता कम्तीमा ९ सय ९५ फिटनेस हुनुपर्छ । बैंकहरूले सुनको शुद्धता राख्न छुट्टै मेसिनको व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमै अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय स्रोत बढाउन सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा स्वीकार गर्ने व्यवस्था गरेका थिए । राष्ट्र बैंकले चालू मौद्रिक नीतिमा थप अध्ययन गरेर कार्यान्वयनमा ल्याउने बताएको थियो ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा बैंकहरूले गरगहना भने निक्षेपका रूपमा लिन पाउँदैनन् । यसका लागि ढिक्का सुुन हुनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुख देवकुमार ढकालका अनुसार सुनचाँदीको गरगहना निक्षेप लिँदा त्यसको शुद्धता नाप्न गाह्रो हुने र त्यसमा प्रयोग भएका रसायनको मूल्यांकन गर्न जटिल हुने भएकाले काँचो ढिक्का सुन मात्रै निक्षेपका रूपमा लिने व्यवस्था गरिएको हो ।

निक्षेप लिएबापतको ब्याज भने बैंकहरूले आफूअनुकूल निर्धारण गर्न सक्छन् । बैंकले निक्षेपका रूपमा स्वीकार गरेको सुनलाई ढुकुटी दाखिला गरेर शुद्धता र तौलको आधारमा अलग राख्नुपर्ने र सुरक्षाका लागि सीसीटीभी स्ट्रङ रुम र दोहोरो चाबी लगाउनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि बैंकहरूले सुन निक्षेप लिने शाखा तोकेर सोहीअनुसारको सूचना प्रकाशित गर्नुपर्ने प्रावधान राखिएको छ ।

बैंकहरूले निक्षेप लिएपछि शुद्धता जाँच गराई त्यसको प्रमाणपत्रसमेत दिनुपर्छ । निक्षेपकर्ताले निक्षेप राख्दा नै निक्षेप र ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने भन्ने पूर्वजानकारी दिनुपर्छ ।

सुन निक्षेपको अवधि न्यूनतम तीन वर्ष र अधिकतम पाँच वर्षका हुनुपर्ने तथा कति समयका लागि निक्षेप राखेको हो भनेर सुरुमै त्यसको अवधि तय गर्नुपर्ने हुन्छ ।

सुन निक्षेप गर्दा त्रैमासिक रूपमा ब्याज दिनुपर्ने व्यवस्था छ । सुनको मूल्य सोही दिनको सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यलाई नै आधार गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

सुन निक्षेप लिएपछि बैंकहरूलाई फाइदा हुने देखिएको छ । निक्षेप गरिएका सुनलाई बैंकहरूले सीआरआर र एसएलआरमा गणना गर्न पाउने भएकाले बैंकहरू दोहोरो फाइदामा पर्नेछन् । यद्यपि, सीआरआरमा २५ प्रतिशत मात्रै सुन निक्षेपका रूपमा गणना गर्न सक्ने व्यवस्था परिपत्रले गरेको छ । सुन निक्षेप स्वीकार गर्ने बैंकको ढुकुटीमा रहेको सुन राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने अनिवार्य तरलता अनुपात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) गणना गर्न सकिने भएको छ ।

१० लाखमाथिको सुन निक्षेप राख्दा आम्दानीको स्रोत अनिवार्य रूपमा खुलाउनुपर्ने हुन्छ । सुन निक्षेपको प्रमाणपत्रलाई त्यही बैंकमा धितो राखी निक्षेपमा रहेको सुनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने भएको छ । यसको ब्याजदर निक्षेपमा पाइरहेको भन्दा २ प्रतिशत बढी हुनेछ । यस हिसाबले निक्षेपकर्ताले सुन निक्षेप प्रमाणपत्रलाई मुद्दती निक्षेपका रूपमा प्रयोग गर्न पाउनेछन् ।

राष्ट्र बैंकले बैंकहरूलाई सात दिनभित्र यस्तो निक्षेप स्वीकार गर्ने कार्यविधि बनाउन निर्देशनसमेत दिएको छ । राष्ट्र बैंकले सुनलाई निक्षेपका रूपमा स्वीकार गर्न वाणिज्य बैंकहरूले नै नीति तथा विस्तृत कार्यविधि बनाई सञ्चालक समितिबाट पारित गराउनुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, सञ्चालक समितिबाट पारित भएको सात कार्र्य िदनभित्र नेपाल राष्ट्र बैंकलाई सो जानकारी गराउनुपर्ने व्यवस्था छ ।

The post अब बैंकमा सुन राख्दा ब्याज पाइने appeared first on Rajdhani Daily News.

बला’त्का’री किच’कन्या

Previous articleअर्बपति ब्लुमबर्गद्वारा चुनावी दौड परित्याग
Next articleकोरोना भाइरसको प्रभाव औषधिमा, भारतले २६ प्रकारका औषधि आयात रोक्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।