विश्वकप छनोटको खेल स्थगित

Click Image

काठमाडौँ । विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ का खेल तत्कालका लागि स्थगित हुने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले तत्कालका लागि एशियामा तय भएको खेल स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल स्थगित गरिएको जनाएको छ । फिफाको निर्णयसँगै बिहीबार युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोटअन्तर्गत समूह बी मा छैटौँ र सातौँ चरणको खेल नेपालमा हुने तय भएको थियो । जसमा नेपालले चाइनिज ताइपेयसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय भएको थियो ।

छनोट खेलअन्तर्गत पाँच खेल खेलेको नेपालले तीन अङ्क मात्र जोडेको छ । चाइनिज ताइपेयलाई पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अङ्क जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ भने १० अङ्क जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसैगरी समान १० अङ्क जोडेको जोर्डन तेस्रो स्थानमा छ भने अङ्कविहीन रहेको चाइननिज ताइपेय अन्तिम स्थानमा छ ।

The post विश्वकप छनोटको खेल स्थगित appeared first on Rajdhani Daily News.

https://ujyaalonepalnews.com/archives/5392

Previous articleमाइभ्याली गोल्डकप : उपाधिका लागि मच्छिन्द्रलाई आयोजकको चुनौती
Next articleऔषधि उत्पादक भन्छन् – नेपालमा तीन महिना बढीको औषधि मौज्दात छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।