रत्ननगर, २२ साउन । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाईजात्राको अवसरमा साउन २५ गते (आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार, यो निर्णय बागमती प्रदेश राजपत्रको खण्ड ८, सङ्ख्या ३२, भाग ३ मा चैत २१ गते प्रकाशित सूचनाको आधारमा गरिएको हो।
मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले हस्ताक्षर गरेको सूचनामा गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ। यो बिदाले बागमती प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरू बन्द रहनेछन्।
गाईजात्रा विशेषगरी नेवार समुदायले मनाउने सांस्कृतिक पर्व हो, जसमा हास्य, व्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरू समावेश हुन्छन्।



