आत्तिनुपर्दैन ! ६ महिनालाई पुग्ने औषधि मौज्दात छ

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण छिमेकी मुलुक भारतले औषधि निर्यातमा रोक लगाउने निर्णय गरे पनि नेपालमा औषधि अभाव नहुने नेपाल औषधि उत्पादक संघले जनाएको छ । केही दिनअघि औषधि निर्यातमा रोक लगाउने निर्णय गरेकामा नेपालको हकमा भने भारतले तत्काललाई त्यस्तो कुनै योजना नरहेको पनि प्रस्ट पारेको छ ।

औषधि उत्पादकले पनि औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थ र सहायक कच्चापदार्थको कुनै अभाव नभएको स्पष्ट पारेका छन् । औषधि आयातकर्ता संघले पनि चार महिनालाई पुग्ने औषधि गोदाममा मौज्दात रहेको जनाएको छ ।
औषधि उत्पादक संघका अनुसार, नेपालमा झन्डै ६ महिनालाई पुग्ने औषधि स्टक छ । औषधि अभाव हुने हल्ला चलेपछि उत्पादक संघले सो जानकारी दिएको हो । औषधि उत्पादक संघको तथ्यांकअनुसार हाल झन्डै ६ करोड ट्याब्लेट पारासिटोमोल स्टक छ । संघका उपाध्यक्ष सन्तोष बरालका अनुसार पारासिटामोलका लागि आवश्यक पर्ने कच्चा पदार्थ झन्डै ३८ हजार किलो स्टक छ । यस्तै, मेट्रोनिडाजोलका लागि आवश्यक पर्ने १० हजार किलो कच्चापदार्थ र मेट्रोनिडाजोल झन्डै ६ करोड ट्याब्लेट स्टक छ ।

कोरोना भाइरस प्रभावका कारण कच्चापदार्थको अभाव सिर्जना भएको भन्दै भारत सरकारले केही दिनअघि पारासिटामोल, मेट्रोनिडाजोललगायत २६ प्रकारका औषधिमा रोक लगाउने निर्णय गरेको थियो । यस्तै, औषधिका लागि आवश्यक पर्ने अधिकांश कच्चापदार्थ चीनबाट आउने गर्छ ।

नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपक दाहालका अनुसार केही समयअघि पारासिटामोलका लागि आवश्यक पर्ने १ लाख ६० हजार किलो कच्चा पदार्थ नेपाल भित्रिएको थियो ।

उत्पादक संघका महासचिव पवन आचार्यका अनुसार भारतले निर्यातमा रोक लगाए पनि बंगलादेशबाट थप २ करोड पारासिटामोल ट्याब्लेट आयात प्रक्रिया सुरु भइसकेको छ । औषधि आयातकर्ताहरूले अन्य अत्यावश्यक औषधि आयातका लागि बंगलादेशस्थित उत्पादकलाई पनि पत्राचार गरिसकेका छन् । औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार औषधिको कृत्रिम अभाव सिर्जना गर्न मिल्दैन ।

यसैबीच, नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय वाणिज्य मन्त्रालयसंग औषधि रोक सम्बन्धमा छलफल भएको जनाएको छ । उद्योगमन्त्री लेखराज भट्टले नेपाललाई आवश्यक पर्ने कुनै पनि औषधि निकासीमा भारत सरकारले प्रतिबन्ध नलगाउने प्रतिबद्धता आएको बताए । भारतले निर्यात रोक लगाएका औषधिहरूमा पारासिटामोल, टिनिडाजोल, मेट्रोनिडाजोल, एसाइक्लोभिर, भिटामिन बी वान, भिटामिन बी १२, प्रोगेस्टेरोन, क्लोराम्फेनिकोल, इरिथ्रोमिसिन, नियोमाइसिनलगायत रहेका छन् । यस्तै, नियोमिसिन, क्लिडामिसिन साल्ट, ओरिन्डाजोल रहेका छन् ।

यी औषधि पर्याप्त मात्रामा मौज्दातका रूपमा रहेको भन्दै औषधिको अभाव नखड्किने नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए । औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले पनि आवश्यक पर्ने औषधि पर्याप्त मात्रामा रहेको भन्दै नआत्तिन आग्रह गरे ।

यस्तै, औषधिको थोकमा उपभोक्ताको घुइँचो बढ्न थालेको छ । नेपाल औषधि थोक व्यावसायी संघका अध्यक्ष शिवराज बाँस्कोटाका अनुसार औषधिको अभाव नभएको भन्दै आत्तिनुपर्ने अवस्था नआएको बताए । उपभोक्ता अधिकारकर्मीहरूका अनुसार औषधि बजारमा कृत्रिम अभावको सिर्जना गरिए उपभोक्ता संरक्षण ऐन, २०७५ आकर्षित हुन्छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले भने, ‘उपभोक्ता संरक्षण ऐन, २०७५ कसुरबमोजिम ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना हुन्छ । बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजार सिर्जना गरेको पाइए कालोबजार तथा अन्य केही सामाजिक अपराध ऐन, २०३२ आकर्षित हुन्छ ।’

The post आत्तिनुपर्दैन ! ६ महिनालाई पुग्ने औषधि मौज्दात छ appeared first on Rajdhani Daily News.

नेपालीको रोजगारी खतरामा: मलेसियामा सुरक्षागार्डमा बंगलादेश, फिलिपिन्स र इन्डोनेसियालीलाई अनुमति प्रस्ताव

Previous articleअचानक ब्रेक लगाउँदा १० सवारी साधन ठोक्किए, विद्यार्थीसहित १५ जना घाइते
Next articleसातदोबाटोमा उभिएकी महिलालाई कारमा लगेर एकाबिहानै बलात्कार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।