काठमाडौं । देशको संघीय राजधानी काठमाडौं जेनजी आन्दोलनकारीको नियन्त्रणमा पुगेको छ । सडकदेखि सरकारी भवनहरुमासमेत उनीहरुले कब्जा गरेका छन् ।
हिजो सुरु भएको जेनजी आन्दोलनमा १९ जना प्रहरीको मारिएपछि आज आन्दोलनले उग्ररुप लिएको हो । काठमाडौंका ठाउँ ठाउँमा आन्दोलनकारीहरु भेला भएर नारा जुलुस, आगजनी र तोडफोड गरेका छन् । नेताहरुको निवास र सरकारी भवनहरु निशानामा परेका छन् ।
आन्दोलनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी बिट हुँदै अहिले उद्योग प्रतिष्ठानहरुमा समेत आक्रमण सुरु गरेका छन् । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार पूर्णरुपमा आन्दोलनकारीको नियन्त्रणमा छ । आन्दोलनकारीले सिंहदरबारका भवनहरुमा यत्रतत्र आगजनी गरिरहेका छन् ।
नयाँ वानेश्वरस्थित संसद भवन आगजनीमा ध्वस्त बनेको छ । राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटारभित्र पनि आन्दोलनकारीले आगो लगाइदिएका छन् । सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, सरकारी वकिलको कार्यालयमा पनि आगजनी भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा तोडफोड र आगजनी भएको छ । देउवा र उनकी पत्नी आरजुमाथि कुटपिटसमेत गरिएको छ । पूर्वराष्ट्रपति भण्डारीको घरभित्र पनि आगजनी भएको छ ।
आन्दोलनकारीहरुले आगजनी र तोडफोड गर्दा प्रहरीले कुनै पनि हस्तक्षेप गर्न सकेका छैनन् । अधिकांस स्थानमा प्रहरीले लाचार भएर टुलुटुलु हेरिरहेको देख्नन सकिन्छ ।
काठमाडौंका सडकमा यत्रतत्र आन्दोलनकारीहरुको भिड छ । सुरक्षाकर्मीहरुको उपस्थिति देखिन्न । हिजो अत्यधिक बल प्रयोग गरेकोप्रति आलोचित भएका सुरक्षाकर्मी आज आत्मसमर्पणको स्थितिमा छन् ।
जनतासुकै आगजनी हुँदा काठमाडौंको आकाश धुवाँमय भएको छ । दैनिक जनजीवन ठप्प बनेको छ । काठमाडौंवासीहरु कोही आन्दोलन गर्न त कोही रमिता हेर्न घरबाहिर निस्किएका छन् । आगजनी गर्नेहरुमा भने अधिकांस जेनजी पुस्ताका युवायुवती देखिन्छन् ।

