मौसमी साग लट्टे : जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड

रोप्न पर्दैन, बारीमा जताततै आफै उम्रन्छ । एक ठाउँ मात्र होइन, पहाडदेखि तराईसम्म पाइन्छ । पकाउन सजिलो, खाँदा स्वादिलो, स्वास्थ्यका लागि पोषिलो के हो ?

यो गाउँ खाने कथा होइन, लट्टेको कुरा हो ।

लट्टे, अहिलेको मौसमी साग । यो यस्तो साग हो, जसलाई न उमार्न गाह्रो छ, न पकाउने । त्यसमाथि पोषणयुक्त पनि । यतिको गुणी साग भएर पनि हामीमध्ये धेरैले लट्टेको सागलाई हेला गरिरहेका हुन्छौं । जबकी यो हाम्रो पुरानो रैथाने खानेकुरा हो ।

के पाइन्छ लट्टेमा ?

लट्टेको साग निकै स्वास्थ्यवद्र्धक मानिन्छ । यसबाट हाम्रो शरीरलाई आवश्यक खनिज पदार्थ प्राप्त गर्न सकिन्छ । अर्थात लट्टेको सागमा खनिज तत्व फलाम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ । भिटामिन इ, भिटामिन सि र फोलिक एसिडको स्रोत पनि हो यो ।

लट्टे मात्र कहाँ हो र लट्टेको दाना पनि उत्तिकै उपयोगी मानिन्छ । लट्टेको दाना बालबच्चा, गर्भवती आदिका लागि निकै लाभदायक हुन्छ । यसलाई जुनससकै खानेकुरासँग पनि मिसाएर सेवन गर्न सकिन्छ । विगतमा कुपोषणबाट बच्न समेत लट्टेको दाना सेवन गरेको पाइन्छ ।

कसरी पकाउने ?

लट्टेलाई आफ्नो स्वाद अनुसार जसरी पनि पकाउन सकिन्छ । सामान्य सागपात जस्तै यसलाई पकाएर सेवन गर्न सकिन्छ । आलुसँग मिसाउँदा पनि काइदा हुन्छ । गोलभेडासँग मिसाएर छिपछिप रस हाल्दा पनि कम्ता स्वादिलो हुँदैन । बफ्याएर अचार बनाउँदा पनि हुन्छ ।

कतिपय ठाउँमा लट्टेको दानालाई भुटेर मह अनि घिउसँग मिसाएर पनि सेवन गरिन्छ ।

कहाँ पाइन्छ लट्टे ?

लट्टे जताततै पाइन्छ, पहाडदेखि तराईसम्म । पूर्वदेखि पश्चिमसम्म । तर, भूगोल अनुसार यसलाई भिन्न भिन्नै नामले चिनिन्छ । सुदूरपश्चिममा यसलाई चौलाई भनिन्छ, तराईमा रामदान वा गेन्हारी साग, पहाडमा लट्टे वा लुँडे ।

कहिले पाइन्छ ?

लट्टेको साग चैत्र–वैशाखको महिनामा पाइन्छ । यो सिजनमा खेतबारीमा आफै उम्रिन्छ । रोप्नुपर्ने झन्झट पनि हुँदैन ।

झार भनेर फ्यालिन्छ

यति गुणी भएर पनि लट्टेको सागलाई धेरैजसोले पहिचान नै गरेका छैनन् । यसलाई खाने अभ्यास पनि त्यती व्यापक छैन । त्यसैले लट्टेको सागलाई धेरैले उखेलेर फ्यालिन्छ । जबकी यसलाई उपभोग गर्न सकियो भने छाक टार्न वा जिब्रोको स्वाद फेर्न मात्र होइन, स्वास्थ्य लाभ पनि लिन सकिन्छ ।

करेसाबारी वा वार्दली, छतमा गमलामा रोपेर पनि लट्टेको साग उपभोग गर्न सकिन्छ । अहिले कतिपय भेगमा भने लट्टेको सागको व्यवसायिक खेती सुरु गरिएको पाइन्छ ।

नेपाल एसपिपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

Previous articleमौसमी साग लट्टे : जान्नेलाई श्रीखण्ड
Next articleआज फेरी एकैदिन १० जनामा कोरोना संक्रमण, स‌ंक्रमितको संख्या १२० पुग्‍यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।