जवान युवतीसँग कालिदासको त्यो रोचक संवाद !

कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो ।

कालिदास : कृपया, पानी दिएर पुण्य कमाउनुहोस् ।

युवती : मैले तपाईंलाई चिनेकै छैन । पहिला आफ्नो परिचय दिनुहोस् । म अवश्य पानी दिनेछु ।

कालिदास : म पाहुना हुँ, कृपया पानी दिनुहोस् ।

युवती : तपाई कसरी पाहुना ? संसारमा त दुईवटा कुरा मात्र पाहुना हुन्छन् । एउटा धन र अर्को यौवन । यिनीहरु आउन र जानमा समय लाग्दैन । सत्य कुरा भन्नुहोस्, खासमा तपाई को हुनुहुन्छ ?

(तर्क दिँदादिँदा हैरान भएका उनी अलि हताश भइसकेका थिए)

कालिदास : म सहनशील हुँ । अब पानी दिनुहोस् ।

युवती : होइन, सहनशील दुई मात्र हुन्छन् । पहिलो, पृथ्वी जसले पापी र धर्मात्मा सबैलाई बोकेकी हुन्छिन् । उनको छाती चिरेर बिउ रोप्नेलाई पनि फल दिन्छिन् । अर्को सहनशील हो वृक्ष जसले ढुंगाले हान्दा पनि फल दिन्छ । तपाई सहनशील होइन । साँचो कुरा बताउनुहोस् ।

(कालिदास लगभग तनावपूर्ण अवस्थामा पुगिसकेका थिए । थप तर्क गर्न थाले)

कालिदास : म हठी हुँ ।

युवती : फेरि झूठ । हठी त नङ र कपाल हुन् । जति काट्नुहोस्, पटक-पटक आउँछन् । सत्य कुरा भन्नुहोस् यहाँ को हुनुहुन्छ ?

(कालिदासले आफूलाई अपमानित महसुस गरे, उनी लगभग पराजित भइसकेका थिए)

कालिदास : त्यसोभए म मूर्ख हुँ ।

युवती : होइन, तिमी मुर्ख कसरी हुन सक्छौ । मुर्ख त दुई हुन्छन्- पहिलो, राजा जसले आफ्नो अयोग्यताको बावजुद पनि योग्यहरुमाथि शासन गर्छन् र अर्को मूर्ख दरबारका पण्डित हुन् जसले राजालाई खुसी बनाउन गलत तर्क गरेर पनि झूठलाई सही सावित गर्न खोज्छन् ।

(केही पनि बोल्न नसकेपछि कालिदास युवतीको पाउ परे र पानी माग्न थाले)

युवती : उठ्नुहोस् महानुभाव ! (आवाज सुनेर कालिदासले माथि हेर्दा त उनी साक्षात् सरस्वती रहिछन्, अनि कालिदास झन नतमस्तक भए)

सरस्वतीले भनिन्- शिक्षाबाट ज्ञान हासिल गर्नु पर्छ न कि अहंकार । तपाईले शिक्षाको बलबाट प्राप्त गर्नुभएको मान र प्रतिष्ठालाई नै आफ्नो उपलब्धि मान्नुभयो र घमण्ड गर्नुभयो । यसकारण तपाईको तेस्रो नेत्र खोल्न म यहाँ आएकी हुँ । कालिदासले आफ्नो गल्ती महसुस गरे र टन्न पानी पिएर फर्किए ।

शिक्षा : विद्वत्तामाथि कहिल्यै घमण्ड नगर्नुहोस् । यही घमण्डले तपाईको विद्वत्ता नष्ट गरिदिनेछ ।

क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्ध रिट

Previous articleभारतको कर्नाटकबाट १२ दिन लगाएर पोखरा आए, प्रहरी पुग्दा तीन तलाबाट हाम फाले
Next articleहाम्रो लाश संग पैसा साटिरहेछ सरकार !!
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।