Home Uncategorized भारतको कर्नाटकबाट १२ दिन लगाएर पोखरा आए, प्रहरी पुग्दा तीन तलाबाट हाम...

भारतको कर्नाटकबाट १२ दिन लगाएर पोखरा आए, प्रहरी पुग्दा तीन तलाबाट हाम फाले

भारतको कर्नाटकबाट १२ दिन लगाएर पोखरा आए, प्रहरी पुग्दा तीन तलाबाट हाम फाले

३० वैशाख, पोखरा । पोखरा महानगरपालिका ८ बस्दै आएका सोलुखुम्बुका अभिषेक बस्नेत करिब तीन महिनाअघि कामका लागि भारतको कर्नाटक क्षेत्र गएका थिए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन भारत सरकारले गरेको लकडाउनमा उनी परे । लकडाउन लम्बिरह्यो । त्यसैले उनले हिँडेरै नेपाल आउने निर्णय गरे । ७ दिनमा उनी कर्नाटकबाट नेपाल भारत सीमा आए र त्यहाँबाट ५ दिनमा पोखरासम्म ।

१२ दिनको यात्रा गरेर मंगलबार पोखरा आइपुग्दा बिहानको १० बजेको थियो । अभिषेक भारतबाट आएको थाहा पाएपछि स्थानीय तर्सिए । तत्कालै उनीहरुले वडामा खबर गरेपछि वडा प्रहरीसहित जनप्रतिनिधि पुगे । प्रहरी देख्नेबित्तिकै अभिषेकले आफू बस्दै आएको तीन तलामाथिबाट हामफाले । उनको खुट्टामा सामान्य चोट लागेको छ !

‘गेटबाट भित्र मात्र छिन लागेका थियौं । भाइले माथिबाट झ्याम्मै हाम फालिहाले,’ पोखरा ८ वडाध्यक्ष रुद्र बरालले अनलाइनखबरसँग भने, ‘तर प्रहरीले तत्काल नियन्त्रणमा लिइहाल्यो ।’ क्वारेन्टिमा बस्नुपर्ने डरले हाम फालेको हुनसक्ने वडाध्यक्ष बरालको अनुमान छ । उनले मुग्लिनबाट तरकारी बोक्ने गाडीमा चढेर पोखरासम्म आइपुगेको वडालाई जानकारी दिएका छन् ।

कर्नाटकबाट बिहारसम्म कति ठाउँमा हिँडेर त कति ठाउँमा अत्यावश्यक बसमा चढेर यात्रा गरेको बस्नेतले बताएका छन् । ‘ठाउँठाउँमा पुलिसलाई ५ सयको आइसी दिएर हिँड्न पाएँ,’ बस्नेतको भनाइ उदृत गर्दै वडाध्यक्ष बरालले सुनाए, ‘बिहारमा केही दिन क्वारेन्टिनमा राखिदियो ।’

बिहारको क्वारेन्टिनबाट पनि भागेर आएको उनले वडामा जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर नवराज अभिकारीले बस्नेतलाई महानगरको क्वारेन्टिनमा राख्ने तयारी भइरहेको जानकारी दिए । ‘उनको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइसकेका छौं । पीसीआर टेस्टको नतिजा भोलि आउँछ,’ उनले भने, ‘अहिले उनलाई लेकसिटीमा बनाइएको क्वारेन्टिनमा लगिएको छ ।’

पशु सेवा विज्ञ केन्द्र बाजुरा द्वारा कृषकलाई बाख्रा वितरण 

Previous articleएकैदिनमा ५७ जना कोरोना संक्रमित बढेपछी लकडाउन थप कडा बन्ने: उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै
Next articleजवान युवतीसँग कालिदासको त्यो रोचक संवाद !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।