नेक्साले लियो उपत्यका प्रहरी कार्यालय रंगरोगन तथा मर्मतको जिम्मा, सहयोगको लागि अपिल

Click Image

काठमाडौँ- नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले काठमाडौँ उपत्यका प्रहरी कार्यालय (मेट्रो), रानीपोखरीको भवन रंगरोगन तथा मर्मत सम्भारका लागि सहयोग गर्न सदस्य तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ।

भदौ २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेक्साले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। मंगलबार बसेको बैठकले सोही आन्दोलनको सन्दर्भमा प्रहरी कार्यालयको पुनर्निर्माण तथा आवश्यक सामग्री उपलब्ध गराई कार्य अघि बढाउने निर्णय गरेको हो।

संघका अनुसार सम्पूर्ण भवनमा रंगरोगन, प्लास्टर र अन्य मर्मत सम्भार गर्ने जिम्मेवारी नेक्साले लिएको छ। प्रारम्भिक अनुमानअनुसार यस कार्यको लागत करिब २५ देखि २६ लाख रुपैयाँ पर्नेछ। अधिकांश सदस्यहरूको कार्यक्षेत्र नजिक रहेको भन्दै उक्त भवनलाई विशेष प्राथमिकताका साथ पुनर्निर्माण गर्ने निर्णय गरिएको छ।

“प्रहरी हाम्रो साथी – शिक्षासँग सहकार्य” भन्ने मूल नारासहित सञ्चालन हुने यस अभियान अन्तर्गत आवश्यक आर्थिक, भौतिक तथा श्रम सहयोगका लागि संघले सबै सदस्यलाई आग्रह गरेको छ। यस कार्यको समन्वय सचिव खिलबहादुर श्रेष्ठ (के.बी.) को नेतृत्वमा रहने टोलीले गर्नेछ।

सहयोग रकम संकलनका लागि सानिमा बैंक लिमिटेड, पुतलीसडक शाखामा खाता खोलिएको छ।

खातावाला संस्था: नेपाल शैक्षिक परामर्श सेवा संघ

खाता नम्बर: ०७७०१००१००००८६४

सम्पर्क नम्बर: ९८५१४००२२६

त्यसै गरी, विभिन्न स्थानमा कोष संकलनका लागि जिम्मेवारी तोकिएका व्यक्तिहरूलाई पनि सम्पर्क गर्न सकिनेछ:

बागबजार – विनोद भण्डारी (९८५१३४२४१३)

चाबहिल – अर्जुन घले (९८०१३५४१४७)

कोरिया – सन्दीप त्रिपाठी (+८२ १० ३४९७ ९८०३)

बानेश्वर – भीष्मराज बम्जन (९८५१३५१९९२२)

पुतलीसडक – दिपक भण्डारी (९८५११२३३६)

नेक्साले प्रहरी संस्था सबल हुँदा मात्र समाजमा सुरक्षाको अनुभूति हुने भएकाले यो अभियानलाई सबैले सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

Previous articleचितवनमा अवैध काठको गोलिया सहित बोलेरो नियन्त्रणमा
Next articleजुटपानी चौकी मर्मतको लागी उदयपुर सामुदायिक वनको सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।