भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा ३० जना त्रिपालमुनि

चितवन, मंसिर १९ – जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ । कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ । भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरु त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन् ।

जेनजी आन्दोलनपछि भागेर फर्किएका कैदीबन्दीमध्ये ४६ जनालाई स्थानान्तरण गर्दा भित्र कोठामा ठाउँ नपुग्दा उनीहरुलाई त्रिपालमुनि राख्न बाध्य भएको हो । कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार भवनभित्र ठाउँ नपुगेपछि अहिले दुई ठाउँमा १५ जनाका दरले त्रिपालमुनि राखिएको छ । कैदीबन्दीको चाप बढेसँगै राख्ने ठाउँको अभावका कारण उनीहरुलाई त्रिपालमुनि राख्नुपरेको हो ।

विगतमा पनि कैदीबन्दी त्रिपालमुनि बस्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले गत आर्थिक वर्षमा केही ठाउँजस्ता हालेर बनाइएको जानकारी दिनुभयो । चिसो र गर्मीको समयमा त्रिपालमुनि बस्न कैदीबन्दीलाई समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भित्र बस्ने ठाउँ प्रयाप्त छैन, त्रिपालमुनि राख्नुपरेको छ, चिसोका कारण बिरामी हुन्छनकी भन्ने डर छ ।”

यस वर्ष त्रिपाल रहेको ठाउँमासमेत जस्ता हाल्ने योजना रहेको उहाँले बताउनुभयो । यस कार्यालयमा हाल ६३० कैदीबन्दी रहेका छन् । यहाँ ५९३ पुरुष र ३७ महिला रहेका छन् । उनीहरुसँग दुई जना आश्रितसमेत रहेका छन् ।

कारागारको क्षमता ३० महिला र ४७५ पुरुषको रहेको छ । गत भदौ २५ गते भागेका ७४३ कैदीबन्दी फर्कनेक्रम जारी रहेको छ । भागेकामध्ये अझै ११३ कैदीबन्दी फर्कन बाँकी छन् । त्यसमा दुई बालबालिकासमेत रहेका छन् । उनीहरु फर्किएपछि थप कैदीबन्दी त्रिपालमुनि राख्नुपर्ने बाध्यता हुन्छ । रासस

Previous articleTop Slots and New Casino Games Featured at Lucky Carnival Casino Today
Next articleविध्वंशमा संलग्नहरुलाई पक्राउ गरेकोमा सुमनाको असन्तुष्टि, प्रहरीले बदला लिन खोजेको आरोप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।