लाहुरेचोकमा पदमपुर दुग्ध सहकारीको बिक्री केन्द्र सञ्चालनमा

चितवन । कालिका नगरपालिकामा रहेको पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाले कालिका नगरपालिका–२ को लाहुरेचोकमा दुग्धजन्य पदार्थ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। सहकारीले उत्पादन गरेका दुग्धजन्य पदार्थहरुको खुद्रा विक्रीको लागी केन्द्र संचालनमा ल्यईएको हो ।

विक्री केन्द्रको सोमबार मेयर विनोद रेग्मीले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेग्मीले स्थानीय स्तरमै उत्पादित दुग्धजन्य पदार्थको उत्पादन र खपत बढाउन कालिकावासीलाई आग्रह गरे। उनले कालिका नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझै बजेट तथा कार्यक्रम विस्तार गरिने बताए।

नयाँ बिक्री केन्द्रमार्फत दूध, दही, मही, घ्यू, नौनी, पनिर लगायतका दुग्धजन्य पदार्थ बिक्री वितरण गरिने संस्थाले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा कालिका नगरपालिकाको ५ लाख रुपैयाँ अनुदान र संस्थाको ५ लाख रुपैयाँ लगानीमा दुग्ध विविधीकरण कार्यक्रम सुरु गरिएको संस्थाका अध्यक्ष भैरव प्रसाद रिजालले बताए  ।

यस अघि संस्थाले कालिका–५ पदमपुर र नारायणगढको प्रगतिपथमा गरी दुईवटा बिक्री केन्द्र सञ्चालन गरिरहेको छ। सहकारीले नगरपालिकाका वडा नं. २, ३ र ५ मा रहेका पाँच वटा दूध संकलन केन्द्रमार्फत दैनिक करिब ३ हजार ८ सय लिटर दूध संकलन गर्दै आएको छ। संस्थामा हाल ८७१ जना किसान आबद्ध रहेका व्यवस्थापक राम प्रसाद चालिसेले जानकारी दिए।

कार्यक्रममा उपमेयर विमला तामाङ, वडाध्यक्षहरू, टिकाराम रेग्मी, लक्ष्मण पौडेल लगायतको उपस्थिति रहेको थियो।

Previous articleगुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश