चितवन, असार ३० — साबिक पिठुवा गाविस तथा हाल रत्ननगर नगरपालिका–१४, १५ र १६ नम्बर वडाका करिब ११ सय बिगाहा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको पिठुवा सिँचाइ जल उपभोक्ता संस्थालाई नयाँ हाइड्रोलिक एक्साभेटर हस्तान्तरण गरिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले विभागीय निर्णयअनुसार एक्साभेटर संस्थालाई हस्तान्तरण गरेको हो।
भारतीय राजदूतावासको सहयोगमा २०६३ सालमा प्राप्त एक्साभेटर लामो समयदेखि सिँचाइ संरचनाको निर्माण तथा मर्मतमा प्रयोग हुँदै आएको थियो। तर पुरानो बन्दै गएपछि पटक–पटक बिग्रने र मर्मतमा लाखौँ रुपैयाँ खर्चिनुपर्दा संस्थालाई आर्थिक भार परेको थियो। नयाँ एक्साभेटर प्राप्त भए पनि विभिन्न प्रशासनिक प्रक्रियाका कारण लामो समयसम्म सञ्चालनमा आउन नसक्दा स्थानीय किसान अन्योलमा थिए। वर्षायाममा कयर खोलामा सामान्य बाढी आउँदा पनि बाँध बग्ने समस्या दोहोरिने भएकाले समयमै मर्मत तथा संरक्षण गर्न नयाँ मेसिनको आवश्यकता भएको थियो।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य हरि ढकालले सरकारी संयन्त्र जनउत्तरदायी नहुँदा एक्साभेटर हस्तान्तरण प्रक्रिया अनावश्यक रूपमा लम्बिएको बताए। उनले सरकारी प्रक्रियागत ढिलाइका कारण किसानले समयमै सुविधा पाउन नसकेको उल्लेख गर्दै अब नयाँ मेसिनको प्रभावकारी परिचालनबाट सिँचाइ व्यवस्थापन थप सहज हुने विश्वास व्यक्त गरे।
पिठुवा सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष देवबहादुर राना मगरले नयाँ एक्साभेटर प्राप्त हुनु संस्थाका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले पुरानो मेसिन मर्मतमा वर्षेनी ठूलो रकम खर्च गर्नुपर्दा संस्थालाई आर्थिक रूपमा कठिनाइ भएको स्मरण गर्दै अब नयाँ मेसिनबाट बाँध संरक्षण, नहर मर्मत तथा आकस्मिक सिँचाइसम्बन्धी काम छिटो र प्रभावकारी रूपमा गर्न सकिने बताए। यसबाट पिठुवाका करिब ११ सय बिगाहा कृषि जमिनका किसान प्रत्यक्ष लाभान्वित हुने उनको विश्वास छ।
संस्थाका सचिव मदन भुजेलले नयाँ एक्साभेटर प्राप्त हुनु पिठुवा क्षेत्रका किसानका लागि खुसीको विषय भएको बताउँदै अब वर्षायाममा कयर खोलाको सामान्य बाढीले समेत बाँध बगाउने समस्याको तत्काल व्यवस्थापन गर्न सहज हुने बताए। उनले लामो समयदेखि प्रतिक्षामा रहेको मेसिन अन्ततः सञ्चालनको चरणमा पुगेकाले सिँचाइ सेवामा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरे।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर र पिठुवा सिँचाइ जल उपभोक्ता संस्थाबीच भएको सम्झौताअनुसार एक्साभेटरको संरक्षण, मर्मत तथा सुरक्षित सञ्चालनको जिम्मेवारी उपभोक्ता संस्थाले बहन गर्नेछ।
हस्तान्तरण कार्यक्रममा रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङ, रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापा, आयोजनाका प्रमुख डा. नारायण प्रसाद सुवेदी, संस्थाका उपाध्यक्ष नारायण अधिकारी, अन्य पदाधिकारी, तथा स्थानीय सरोकार वालाहरुको उपस्थिति रहेको थियो।



