पशुपालकलाई आत्मनिर्भर बनाउने अभियानमा वडाकार्यालय; ५० जना कृषकलाई गरायो अवलोकन भ्रमण
निराजन घिमिरे, १५ पौष, चितवन- पछिल्लो समयमा रत्ननगर १६ चितवनका किसानहरु बाख्रापालन बाट आत्मनिर्भर बन्दै गएका छन्! यसरी व्यवसायिक बाख्रापालन गर्ने किसानहरुका लागी वडाकार्यालयले प्राविधिक सहयोग संगै विभिन्न किसिमका तालिमहरु संचालन समेत गर्दै आएको जनाएको छ!

रत्ननगर १६ भद्रकाली टोलका प्रेमराज बुढाथोकीको जिन्दगीको उर्वर समय खाडीमा बित्यो ! साउदीको फराकिलो सडकमा लहरी हुईक्याउने प्रेम आफ्नै देशमा पसिना बगाउने उद्देश्यले नेपाल फर्किए! नेपाल फर्किएर गाई पालन सुरु गरेका प्रेमले अहिले बिस्तारै बाख्रापालन समेत सुरु गरेका छन् !घरमै सानो किराना पसल र गाई पालेर बसेका प्रेमले अघिल्लो वर्ष बाट मात्रै बाख्रापालनमा हात हालेका हुन् !

व्यवसायिक फर्म खोलेर नै बाख्रा पालन कस्सिएका प्रेमराज यतिबेला फाईल बोकेर सरकारी निकाय धाईरहेका छन् ! अहिले जम्मा १० ओटा सानाठूला बाख्रा पालेका प्रेम कम्तिमा २० ओटा माउ बाख्रा अटाउने खोर बनाउन कस्सिएका छन् ! जसको लागी उनले कृषि विकास बैंक बाट पशुपालन कर्जा निकाल्न कागजात तयार गरिरहेका छन्! बाख्रालाई खुवाउन उनले यतिबेला २ कठ्ठा जमिनमा उन्नत जातको घाँस समेत लगाएका छन् !

यस्तै रत्ननगर १६ हात्तिगाडे बस्ने युवराज थापा भूतपूर्व प्रहरी हुन्!जागीरे जीवनबाट अवकाश लिएपछि गाईपालन गर्दै आएका उनि अहिले बाख्रापालन तर्फ आकर्षित भएका छन्! यसको तयारी स्वरूप उनले २० ओटा माउ बाख्रा अटाउने खोर निर्माण भर्खरै सक्काएका छन्! व्यवसायिक पशुपालन बाट स्थानीयलाई स्वरोजगार बनाउने वडा कार्यालयको अभियानले यतिबेला सार्थकता पाउँदै गएको देखिन्छ!

वडा कार्यालयले कृषकहरुलाई उन्नत बिउबिजन, कृषि औजार, तालिम लगायत प्रदान गर्दै आईरहेको छ! विभिन्न निकाय बाट अनुदान भित्राएर सुधारिएको गोठ निर्माण गरि व्यावसायिक पशुपालनमा आत्मनिर्भर गराउने वडा कार्यालयको कार्ययोजना छ! आफ्नो वडालाई बाख्रा पालनको पकेट क्षेत्र बनाउने अभियानमा रहेको वडाध्यक्ष हेमराज थापाले बताउनु भयो!
यसैबीच वडा कार्यालयले बाख्रापालक कृषकहरुलाई व्यावसायिक रुपमा संचालन भईरहेको बाख्रा फार्मको अवलोकन भ्रमण गराएको छ! कृषक, वडा कार्यालयका प्रतिनिधि, पशु प्राबिधिक र पत्रकार सहितको ५० जनाको टोलीले सुद्धोदन गाउँपालिका बेताहनी, रुपन्देहीमा रहेको एस.के बाख्रा फार्मको अवलोकन गरेको हो! फर्ममा हाल खरी, बोयर लगायत विभिन्न जातका छ सय बाख्रा रहेका छन! फर्मका संचालक सन्दिप खनालले भ्रमण टोलीलाई स्वागत गर्दै बाख्रापालन व्यवसायमा रहेका चुनौती र अवसरको बारेमा जानकारी दिनुभयो! त्यस्तै फर्ममा कार्यरत प्राविधिकले बाख्रापालनका बारेमा प्राविधिक पक्षहरुको जानकारी दिएका थिए!

भ्रमणमा सहभागी पिठुवा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बद्रि अर्यालले कृषकहरुलाई आत्मनिर्भर बनाउने वडा कार्यालयको अभियान निकै सरहानिय रहेको बताउनु भयो! रोजगारीको लागी युवापुस्ता देशविदेश भौतारिरहेको अवस्थामा स्थानीय सरकारको यस्तो अभियानले युवाहरुलाई आफ्नै माटोमा पसिना बगाउन अभिप्रेरित गर्ने अध्यक्ष अर्यालले बताउनु भयो!


