श्रम स्वीकृति लिएका कामदारलाई मान्यता प्राप्त खोप दिन श्रम मन्त्रालयले गर्दैछ पहल

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)लाई अनुरोध गरेको छ । श्रमले खोप प्राप्त गर्न नसक्दा रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै सिसिएमसीलाई जोन्सन खोप उपलब्ध गराउन आग्रह गरेको हो । प्रमुख गन्तव्य देशहरुले जोन्सनलाई मान्यता दिएको छ ।

‘तत्कालको लागि एकलाख जनालाई पुग्ने खोपको प्रबन्ध भए वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन हुनेछ,’ श्रम सचिव सुर्यप्रसाद गौतमले भने । नेपाली कामदारका प्रमुख गन्तव्य देशहरुले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएको छ । दुवै मात्राको खोप नभएपछि नयाँ र बिदामा आएका नेपाली कामदार समेत रोजगारीमा जान पाएका छैनन् । चालू आर्थिक वर्षमा एकलाख ५९ हजारले श्रम स्वीकृति पाएका छन् । जसमध्ये धेरै कामदार खोप नपाएर गन्तव्य देशमा जान रोकिएका छन् ।

नेपालीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपाली कामदारलाई जान रोकेको छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने सर्तसहित क्वारेन्टाइनमा १० दिन बस्ने गरी कामदार लगिरहेको छ । गत वर्षको फागुन २१ देखि कोरियामा कामदार पठाउने प्रक्रियालाई स्थगित छ । कोरियाले नेपाललाई कोरोनाको अति संवेदशनील मुलुकको सूचीबाट हटाएको छैन । यूएईले वैशाख २३ देखि नेपालबाट कामदारसहितको यात्रुलाई प्रवेश निषेध छ ।

कोरोनाको ठूलो मारमा परेको भारतलाई खुल्ला गरेपनि नेपालबाट कामदार लगेको छैन । यूएईले भने नेपालमा खोप नभएको भन्दै नेपालीको प्रवेशलाई अनुमति दिएको छैन । यूएईको स्वास्थ्य मन्त्रालयको सूचना अनुसार फिजर–बायोटेक, स्पुटनिक भी, सिनोफार्म, अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई मात्रै मान्यता दिइएको छ ।

कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कामदार लैजान बन्द गरेको कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाइसकेको कामदार मात्रै आउन पाउने जनाएको छ । कुवेतले नेपालमा रोकिएका पहिला नै भिसा भएका कामदारले अनलाइनबाट नै नविकरण गर्न पाउने बाटो खोलिदिएको छ । नविकरण गरी उनीहरु साउन १७ देखि कुवेत जान पाउनेछन् । कुवेतले जोनसनलाई अनुमोदन दिएको छ ।

साउदी अरब र कतारले जोन्सनलाई अनुमति दिएको छ । साउदी र कतारले खोप लगाएको कामदारले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमलाई हटाएको छ । श्रम मन्त्रालयले क्वारेन्टाइनमा बस्दा कामदारको लाखौं खर्च भइरहेको सूचना आइरहेकोले श्रम स्वीकृति पाएका कामदारलाई खोप जरुरी भएको जनाएको छ । कान्तिपुर

https://ujyaalonepalnews.com/archives/15081

Previous articleवैदेशिक रोजगारीमा जानेले खोप लगाउन जाँदा के के डकुमेन्ट लिएर जान पर्ला?
Next articleसाउदीको ताबुक क्षेत्रमा राहदानी नबिकरण गर्न अनलाईन फारम भर्ने बारे दुताबासको सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।