सरकारले र्यापिड पीसीआर टेस्ट सेवा सञ्चालन नगरेका कारण नेपालबाट दुबई यात्रा अनिश्चितकालका लागि स्थगन
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले र्यापिड पीसीआर टेस्ट सेवा सञ्चालन नगरेका कारण नेपालबाट दुबई जाने कामदारको यात्रा सोमबारदेखि अनिश्चितकालका लागि स्थगन भएको छ । दुबईले सोमबार नेपाली वायुसेवा कम्पनीहरू हिमालय एयरलाइन्स र नेपाल वायुसेवा निगमलाई विमानस्थल परिसरमा उडान समयअगावै चार घण्टाभित्रको र्यापिड पीसीआर टेस्टको रिपोर्ट अनिवार्य गर्न पत्र पठाएपछि हिमालय एयरलाइन्सबाट ८० र नेपाल वायुसेवा निगमबाट ३७ जना यात्रु सोमबार राति दुबई जान विमानस्थल पुगेर फर्किएका थिए ।
दुवै वायुसेवा कम्पनीका विमान दुबईका यात्रु ल्याउन काठमाडौंबाट रित्तै उडेका थिए । अन्तिम समयमा दुबईबाट जानकारी आएकाले ८० जना यात्रुलाई नलगी विमान रित्तै दुबई उडाउनुपरेको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । ‘यताका यात्रुमध्ये राति ५१ जनालाई होटलमा राख्यौं, बाँकी २५ जनालाई उनीहरूकै गाउँ लगिदियौं,’ उनले भने । निगमको उडानबाट जान नपाएका ३७ जना यात्रुले मंगलबार न्युरोडस्थित मुख्यालयमा नाराबाजी गरेका थिए ।
एक महिनादेखि निगममा आन्दोलन गरिरहेका ट्रेड युनियनका नेताहरूले आन्दोलनमा कर्मचारीको सहभागिता न्यून भएपछि मुख्य गेटमा तालाबन्दी गरेका थिए । त्यही बेला निगम पुगेका यात्रु, ट्रेड युनियनकर्मी र अन्तर्राष्ट्रिय टिकट बिक्री शाखाका कर्मचारीहरूबीच चर्काचर्की परेको आन्दोलनरत नेकपा निकट ट्रेड युनियनका एक कर्मचारी नेताले बताए । कान्तिपुरमा खबर छ ! निगमले आक्रोशित यात्रुलाई अर्को उडान हुनेबित्तिकै प्राथमिकता दिने बताएपछि उनीहरू होटल फर्किएका थिए ।
निगमले आफ्ना यात्रुलाई सोमबार र मंगलबारका लागि होटलमा राखेको छ । उनीहरू बुधबार घर फर्किनेछन् । हाल निगमले सातामा दुई र हिमालयले सातामा तीनवटा काठमाडौं–दुबई–काठमाडौं उडान गर्दै आएका छन् । तर विमानस्थलमा र्यापिड पीसीआर टेस्ट सेवा सञ्चालन नभएसम्म नेपाल र दुबई उडान अनिश्चित भएको छ । दुवै वायुसेवा कम्पनीले विमानस्थलमा कम्तीमा पनि १० वटा र्यापिड पीसीआर टेस्ट मेसिन आवश्यक पर्ने जनाएका छन् ।
https://ujyaalonepalnews.com/archives/15434


