गीता पंगेनी, चितवन- चितवनको रत्ननगर नगरपालिका वडा नं १६ मा रहेको भद्रकाली मन्दिर परिसर भित्र निर्माण गरिएको राधाकृष्ण मन्दिरको उद्घाटन तथा प्राण-प्रतिष्ठा सम्पन्न भएको छ । भद्रकाली भजन समूह द्वारा निर्मित मन्दिरको रनपा-१६ का वडाध्यक्ष हेमराज थापाले रिबन काटेर उद्घाटन गरेका हुन् । भद्रकाली भजन समुहका अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले हिन्दु सनातन धर्मको रक्षाकालागि सबै एक भएर लाग्न अनुरोध गरे ।


स्थानीयबासीहरु भजन समूह गठन गरि दिनरात खैजेडी बजाएर जम्मा गरेको रकमले मन्दिर निर्माण हुन प्रशंसायोग्य कार्य भएको बताए उनले । कार्यक्रममा रत्ननगर-१५ का वडाध्यक्ष हुमनाथ लामिछाने, एकीकृत कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद अर्याल, भद्रकाली मन्दिर संरक्षण समितिका अध्यक्ष देव बहादुर राना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा वडा नं. १६ का वडा सदस्य विष्णु प्रसाद रिमाल, भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष युवराज थापा, भद्रकाली टोल विकास समितिका अध्यक्ष जगन्नाथ नेपाल लगायत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम भद्रकाली मन्दिर संरक्षण समितिका सचिव अनुप बुढाथोकीले गरेका थिए । भद्रकाली भजन समुहले करिब तिन लाख रुपैयाँको लागतमा मन्दिर निर्माण सम्पन्न गरेको समुहका सह-सचिव गोविन्द सिग्देलले जानकारी दिए ।

शिलापत्रमा लेखिएको नाममा असन्तुष्टि
नवनिर्मित राधाकृष्ण मन्दिरमा राखिएको शिलापत्रमा भद्रकाली भजन समुहका वर्तमान सदस्यहरुको नाम लेखिएको छ । तर विभिन्न कारणले बिचैमा भजन समूह छोडेकाहरुले भने यसमा असन्तुष्टि जनाएकाछन् । आफुहरुले पनि उक्त भजन समुहमा दिनरात नभनी दुख गरेको तर अहिले मन्दिरमा लगाईएको शिलापत्रमा भने आफुहरुको नाम नअटाएकोमा उनीहरुको गुनासो छ । यसरी सबै व्यक्तिहरुको नाम लेख्न भन्दा बरु “भद्रकाली भजन समूह द्वारा निर्मित’ भनेर लेखिएको भए विवादरहित हुने उनीहरुको तर्क छ।

“मैले धेरै रात भजन गएरै बिताएको छु, यो भजन समुहमा संकलित रकममा मेरो ठुलो योगदान छ । तर अहिले हाम्रो त्यो मेहनतलाई नजरअन्दाज गरियो”, नाम उल्लेख नगर्ने सर्तमा एक पुर्व सदस्यले भने। समुहको बैठकले “भद्रकाली भजन समूह द्वारा निर्मित’ भनेर शिलापत्र राख्ने निर्णय गरेको तर अहिले नामावली सहितको शिलापत्र देख्दा आफु अचम्मित बनेको समुहका लेखा संयोजक अनुप बुढाथोकीले बताए। बिचमै छाडेकाहरू मध्य पनि कसैको नाम लेखिएको र कसैको नलेखिएको भन्दै, यसरी भेदभाव हुनेगरी काम नगरेको भए राम्रो हुने उनको धारणा छ ।
https://ujyaalonepalnews.com/archives/15662


