कतारको पुलिसले हतकडी लगाएर विमानस्थल लग्यो, कम्पनीले पासपोर्ट ल्याइदियो, तलब दिएन’

गोपाल परियार, कास्की । जान त म पनि कमाएर आउला भन्ने सपना बोकेर परदेश गएको थिएँ । तर सपनाहरु कहिलेकाहीँ सोचेभन्दा पनि कहालीलाग्दो खाडलमा डुब्दा रहेछन् । जुन हर कोही परदेशीले कल्पना गरेकै हुँदैन । नेपालबाट कतार जाने बेलामा मलाई इलेक्ट्रिसियनको काममा भनेर पठाइएको हो । तर कतार पुगेपछि ठिक उल्टो काम गर्नुपर्‍यो । मलाई कतारमा हेल्परको काम गर्न लगाइयो । काम गर्नकै लागि भनेर अर्काको देशमा पुगिसकेपछि काम गर्दिन भन्ने त कुरै भएन ।

पाइप फिटिङको काम लगाइयो । कम्पनीले जे काम लगायो गरेँ । कम्पनीले काम गरे बापतको तलब दिन भने सुरुवाती दिनदेखि नै गडबडी गर्‍यो । दुई महिना काम गरेपछि मात्र तलब दियो । दुई महिनाको तलब सधैँ होल्ड गरेर राख्यो । कम्पनीको नियम नै त्यस्तो होला भन्ने भयो । केही भनिएन । भनेको भए पनि हाम्रो कुरा सुन्ने वाला कोही पनि थिएन त्यहाँ । जसोतसो काम गरियो । दुई वर्षको करार अवधि सकिन लागेको थियो । कोरोना महामारीले कतारमा पनि विभिन्न नियमहरू लागू थियो ।

एक दिन कम्पनीले तलब हालिदिएको खबर आयो । तलब लिनका लागि बाहिर बैङ्कमा जानु पथ्र्यों । मसहित एउटै कम्पनीमा काम गर्ने एक दुई जना थप साथीहरू बैङ्क गयौँ । पैसा निकालेर फर्कँदै थियौँ । प्रहरीले रोक्यो । अकामा माग्यो । दियौँ । किन यस्तो कोरोनाको बेलामा बाहिर हिँडेको भनेर गाली गर्‍यो । हामीले तलब निकाल्नका लागि बैङ्क गएर आएको भनेर आफ्नो कुरा राख्यौँ  प्रहरीले त्यसो भए पीसीआर परीक्षण गर्न हिँड् भन्यो । गाडीमा हाल्यो । एउटा बगरमा लग्यो । त्यहाँ त थुप्रै मानिसलाई जम्मा गरेर राखेको रहेछ ।

के को पीसीआर जाँच गर्न हुन्थ्यो । हामीलाई त सनैया २ नम्बर जेलमा लग्यो । सात दिनसम्म त्यही हिरासतमा राख्यो । न कतै फोन गर्न दिन्छ न, कम्पनीको मान्छे कोही आउँछन् । सात दिनको दिनमा हातमा हतकडी लगाएर हाम्रो लेबर क्याम्पमा लग्यो । हतकडी लगाएको हातले के सामान ल्याउन पाउनु र । एक जोर लुगा चाहिँ लगाएँ । अनि त्यहाँबाट हतकडी नखोली सिधै एयरपोर्टमा लगेर प्रहरीले छाडिदियो । कम्पनीको मान्छेले त्यही हामीलाई पासपोर्ट ल्याइदियो । पासपोर्ट ल्याइदिए पनि हाम्रो तलब ल्याइदिएन । दुई महिना १५ दिनको बाँकी तलब, ओभर टाइमको रकम र दुई वर्ष काम गर्दाको सेवा सुविधा सबै छाडेर आउन पर्‍यो । जहाज चढ्ने बेलामा मात्रै हतकडी खुल्यो ।

नेपाल आएपछि बाँकी तलब पाउँ भन्दै हामी नेपालमा रहेको कतारी दूतावासमा पनि गयौँ । तर दूतावासले यहाँ हैन परराष्ट्र मन्त्रालयमा जानुहोस् भन्यो । त्यहाँ पनि गयौँ । उहाँहरूले जिल्ला प्रशासन कार्यालयमा पैसा आउँछ भन्नुभयो । जिल्लामा जाँदा अहिले रकम आएको छैन आयो भने खबर गर्छौँ भनेर सम्पर्क नम्बर र पासपोर्ट नम्बर छाडेर आयौँ । पैसा आउँछ त भनिएको छ । तर कहिले आउँछ थाहा छैन । आजको दिनसम्म हतकडी नै लगाएर देश किन पठाइयो भनेर पनि मैले बुझेको छैन । उज्यालो अनलाईन बाट 

https://ujyaalonepalnews.com/archives/16084

Previous articleप्रचण्ड चितवन ओर्लेकै दिन ४५ जना माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश
Next article२ वर्षे भिषा सकियो, कम्पनीले काम पनि दिदैन घर नि पठाउँदैन, दशैको मुखमा अलपत्र परियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।