हेटौँडा, २५ मंसिर । वैदेशिक रोजगारका क्रममा दुवईमा पुगी बिरामी भएर अलपत्र बनेका मकवानपुरको मनहरी गाउँपालिका–३, हाँडीखोलाका विक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्धार गरी नेपाल फर्काएका छन् । जापान, दुवई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक सहयोग जुटाएर जिम्बालाई गत बिहीबार नेपाल फर्काएका हुन् । दुवईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि काम गर्दागर्दै बेहोस भई ढलेका थिए ।
उनको उपचारको क्रममा पेटको अप्रेसन भयो । साथै, उनको उपचार नसकिँदै भिसाको अवधि सकियो । अस्पतालमा उपचार हुँदै गर्दा भिसा सकिएपछि उनी बेसहारा बनेका थिए । अवैधानिक बनेपछि नेपाल फर्कन पनि समस्या भएको र काम पनि नपाएपछि जिम्बा अलपत्र अवस्थामा थिए । हाँडीखोला स्थायी निवासी अर्जुन सुनामले जिम्बाको नाजुक अवस्थाबारे जापानमा रहेका श्रीराम रिजाललाई जानकारी गराए ।

हाँडीखाला निवासी रिजालकै संयोजकत्वमा जिम्बालाई नेपाल फर्काउनका लागि आवश्यक रकम जोहो गर्ने अभियान सुरू भयो । करिब एक हप्ताको अवधिमा रिजालको नेतृत्वमा लगभग एक लाख रूपैयाँ जुटाएर उनलाई नेपाल फर्काइएको हो । ‘भाइको नेपालमा पनि कोही अभिभावक रहेनछन् । उनी हाँडीखोलामा ठूलोबाको घरमा बस्ने रहेछन् । अलपत्र भएपछि पैसा खर्च गरेर उद्धार गरिदिने कोही नभएपछि हामीले पहल गरेर नेपाल फर्काउन सफल भयौँ’, रिजालले भने ।
नेपाल फर्किसकेपछि पनि उनको थप उपचार गर्न आफूहरुले सहयोग जुटाउने उनले बताए । जिम्बालाई नेपाल झिकाउनका लागि साउदीमा रहेका विपीन न्यौपाने, जनक विष्ट, दीपक अर्याल, अर्जुन सुनाम, मिलन लामा, रमेश सुनाम, परशुराम उप्रेतीलगायतका युवाहरुले सहयोग गरेका थिए । दुवईमा रहेका देवेन्द्र सुवेदी र रामबाबु रेग्मीले भौतिक उपस्थितिमै आवश्यक प्रक्रियाहरु मिलाएर सहयोग गरेका थिए ।
दुवईबाटै मनीष लुइँटेल र अजय पुडासैनीले पनि आर्थिक सहयोग गरेका थिए । फेसबुक ग्रुप च्याटमा ‘विक्रम बचाऊ अभियान’ सञ्चालन गरी श्रीराम रिजालको संयोजकत्वमा रकम संकलन सुरू गरिएको थियो । नेपाल फर्किएका जिम्बालाई उनकी दिदी समृद्धि लामाको जिम्मा लगाइएको छ । उनको थप उपचारका लागि हाँडीखोला निवासी सञ्जीव पाठक र मनहरी हस्पिटलका सिनियर अहेव ज्यापेतिराज लुइँटेललगायतको टिमले पहल गरिरहेको छ । यो खबर मकवानपुर बाट अमृत चिमोरियाले चितवन पोष्टका लागी लेखेका हुन् ।
https://ujyaalonepalnews.com/archives/16747


