रत्ननगर महोत्सवको तयारी पुरा भोली उद्घाटन हुने

रत्ननगर । पूर्वीचितवनको टिकौली चौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी पूरा भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही फाल्गुन १५ गतेदेखि २३ गतेसम्म महोत्सवको ११ औं संस्करण हुँदैछ ।

बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपू्तिमन्त्री मिलन बाबु श्रेष्ठबाट महोत्सवको उद्घाटन हुने संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । महोत्सवको आन्तरिक व्यवस्थापन, प्रचारप्रसारदेखि स्टल निर्माणको काम सकिएको संयोजक श्रेष्ठले बताए । संघले समग्र जिल्लाको आर्थिक विकास गर्ने उद्देश्यले हरेक दुई–दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ ।

यस वर्षको महोत्सवमा हेलिकप्टरबाट पर्यटकीय स्थलहरुको अवलोकन गराइने छ । जिप साइकलिङ र जीपलाइन यस पटकको मुख्य आर्कषण हो । रत्ननगर महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनको बजारीकरणमा सघाउने संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४२५ भन्दा बढी स्टलहरु रहने छन् । महोत्सवमा तीन लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब १५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको गिरीले जानकारी दिए ।

कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि महोत्सवमा व्यावसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइएको छ ।

महोत्सव उद्घाटन हुनुपूर्व विहान नेपाल माविबाट शोभायात्रा निकालिने शोभायात्रा व्यवस्थापन समितिकी संयोजक विरञ्जना घिमिरेले जानकारी दिइन् । शोभायात्रामा एक सय बढी संघसंस्थाले सहभागिता जनाउने छन् ।  यस अघि पौष २७ देेेखि महोत्सव आयोजना गर्ने तयारी भएता पनि कोरोना महाामारी बढेसँगै चितवन प्रशासनले जारी गरेको निषेधाज्ञाको कारण महोत्सव स्थगित गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/17647

Previous articleकोभिड खोपको पूरा मात्रा लगाएकाको लागि कतारले हटायो क्वरेण्टीन र पीसीआर परीक्षणको नियम
Next articleरत्ननगर महोत्सवमा एक्स्पर्ट एजुकेसन चितवनले बाढ्यो नि:शुल्क खानेपानी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।