खाद्य पोषण सुरक्षा’ कार्यक्रम : कृषिमा ३० लाख लगानी

पर्वत  । जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटका झकनाथ शर्मा जिसी अब बेमौसममा पनि हरियो तरकारी फलाउने गरी टनेल निर्माण गर्ने तयारीमा हुनुहुन्छ । कुनै सिजनमा यथेष्ट पाइने हरियो तरकारी सिजन सकिएपछि खोज्दा पाइँदैन । स्वास्थ्यको लागि सधैँभरि हरियो तरकारी आवश्यक पर्ने भए पनि अभाव हुने भएकोले टनेलमा बेमौसममा तरकारी उत्पादन गर्ने तयारीमा हुनुहुन्छ जिसी ।

“अस्ति भर्खर टनेल बाँड्नुभएको छ । सुख्खाको बेलामा त हरियो परियो देख्नै नपाइने हुन्छ । अहिले पाएको टनेलमा काँक्रो, साग, काउली, गाजर लगाउने सोचेको छु । सिजन सकिएपछि खान हुन्छ”, उहाँ भन्नुहुन्छ, “मेरोमा पहिले नै तीन वटा टनेलमा टमाटर त लगाएको छु । अहिले भएको टनेलमा घरमा खाने हरियो सागपात उत्पादन गर्ने भन्ने सबैको सल्लाह अनुसार त्यही गर्न थाले ।”

जि.सी. जस्तै कुश्मा नगरपालिकाको वडा नं. १ पाङ, २ खुर्कोट र ३ पाङका ६० जना कृषकहरूले यसरी नै खेती गर्ने तयारी गरिरहनुभएको छ । यसको देन भने गण्डकी प्रदेश सरकारलाई जान्छ । प्रदेशका नागरिकमा पोषण स्तरलाई थप बलियो बनाउने कुरालाई प्राथमिकतामा राखेर ‘खाद्य पोषण सुरक्षा’ कार्यक्रम सुरु गरिएको छ । 

गण्डकी प्रदेशका ११ वटै जिल्लामा लागू भएको कार्यक्रम अनुसार पर्वतका कृषकहरूले पनि आफूमा पोषणको मात्रा पूरा गराउन कृषि ज्ञान केन्द्र कार्यालयमार्फत आवश्यकता अनुसारका कामहरू गर्नुभएको हो ।

कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार प्रदेश सरकारी महत्त्वपूर्ण र प्रभावकारी कार्यान्वयनसहित यो अभियानलाई हालै मात्रै सुरु गरेको छ । त्यसका लागि पर्वतमा मात्रै ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त बजेट विभिन्न ठाउँका छ वटा कृषक समूहलाई ५/५ लाखका दरले वितरण गरेर उत्पादन सम्भव भएका र पोषणको मात्रा पूरा गर्न सहयोगी भूमिका खेल्ने वस्तुको उत्पादन गर्न भनिएको छ ।

कृषकको रोजाई र आवश्यकता अनुसार हुने उक्त रकमलाई लगानी गरेर कृषकको परिवारसहित सम्भव भएमा छिमेकीलाई पनि पुग्ने गरी पोसिला खाने कुराहरूको उत्पादन गर्ने लक्ष्य कार्यक्रमको छ । 

“कृषकले आफ्नो ठाउँको आवश्यकता र सम्भावनालाई हेरेर पोसिला खाद्य वस्तुहरू उत्पादन गर्न सक्नुहुन्छ । साग मात्रै लगाउने वा टमाटर मात्रै लगाउने भन्ने हुँदैन । कोहीले यसैबाट मौरी पाल्न पनि सक्नुहुन्छ”, कृषि विकास अधिकृत थापा भन्नुहुन्छ, “उहाँहरूले व्यावसायिक रूपमा तरकारी खेती गरेर आम्दानी बढाउनुहोला भन्ने उद्देश्यले नभएर घरका लागि चाहिने पोसिला खाना उत्पादनमा लगानी गर्नको लागि यो रकम गएको छ । घरमा प्रयोग गरेर बढी भए त बिक्री गर्न पनि मिल्यो नै ।”

कृषक र उसको परिवारसहित छिमेकीको पोषणको अवस्थामा समेत सुधार ल्याउने गरी घर–घरबाट प्रयास हुनुपर्छ भन्ने मान्यता राखेर कार्यक्रम सुरु गरिएको हो । कम्तीमा पनि आफ्नै घरमा मह, तरकारी, फलफूल, भैँसी पालन, लगायतका काम पनि कृषकहरूले यो कार्यक्रमबाट गर्न सक्नेछन् । पोषणका अभावमा देखिएको कुपोषण र ख्याउटेपन हटाउन तथा कृषकका घरमा रहेका बालबालिकाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि पनि यो कार्यक्रम उपयोगी हुनेछ ।

यो कार्यक्रममा सहभागी हुनका लागि आवेदन खुलाउँदा ११ वटा समितिबाट निवेदन आएको भए पनि महिलाद्वारा सञ्चालितलाई प्राथमिकता, गरिब, दलित तथा आर्थिक रूपमा कमजोर रहेकाहरूलाई विशेष जोड र यस अगाडि यस्ता खालका सहयोग नपाएकाहरू हरेर छ वटा समूहलाई छनोट गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट, फलेवास नगरपालिका–४ मुडिकुवा, मोदी गाउँपालिका–५ को बाजुङ र छापा फलाल्ने, जलजला गाउँपालिका–९ बनौँ र कुश्मा नगरपालिका–११ पकुवामा यो कार्यक्रम सुरु हुन लागेका कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/17933

Previous articleएमालेको पोलिटब्युरो बैठक बस्दै
Next articleमौरी व्यवसायबाट वार्षिक १८ लाख आम्दानी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।