मौरी व्यवसायबाट वार्षिक १८ लाख आम्दानी

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–७ का रत्नबहादुर गुरुङ मौरी व्यवसायमा लाग्नुभएको पनि १७ वर्ष पुग्यो । २ परम्परागत मौरी घारबाट शुरु गर्नुभएका मौरी व्यवसाय शुरु गर्नुभएका गुरुङ अहिले मौरी उद्योगको मालिक बन्नुभएको छ ।

गुरुङले अहिले चिउरीखर्क मौरीघार उद्योग मार्फत वार्षिक मह, गोलाघार, खाली घारबाट १८ लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले मौरीसहितको घार ९ हजार र खाली घार ४ हजार र मौरी मात्रै प्रतिगोला ५ हजारमा विक्री गर्दै आउनुभएको छ । वार्षिक रुपमा २०० गोलाघार, ३०० खाली घार र मह समेत बिक्री गर्दै आउनुभएका गुरुङलाई बजारीकरणमा कुनै समस्या छैन । 

मौरी व्यवसायमा धेरै लगानी र दुख गर्नु नपर्ने भएकाले गुरुङ दैनिक ५ बजे उठ्ने र बेलुका ७/८ बजेसम्म मौरीकै स्याहारमा खटिरहनुभएको देखिन्छ । उहाँको यो व्यवसायमा श्रीमती र २ जना सहयोगीले सहयोग गर्दै आइरहेका छन् ।  गुरुङले अहिले खाली मौरीका घार, मौरीसहितको घार, मौरी तथा महको बिक्री वितरण गर्दै आउनुभएको छ । गुरुङको मौरी तथा घार अहिले स्थानीय तहले समेत किनेर अनुदानमा कृषकहरूलाई वितरण गरिरहेको छ । गुरुङको घरको बार्दली, झ्याल, घरपछाडि रहेको कर्सालगायत वरिपरि सेरेना जातको मौरीका सेताम्मे घार देखिन्छन् ।

गुरुङको उद्योगमा अहिले ९५ घार छन् केही घार मह उत्पादनका लागी र केही घार विभाजन गरी घार बिक्रीका लागी राख्नुभएका गुरुङले प्रति घारबाट ४ गोलामा रूपान्तरण गर्न सकिने गुरुङ बताउनहुन्छ । जेष्ठसम्म २०० घार पुर्‍याउने र १२५ घार बिक्री गर्ने र ७५ घार राख्ने उहाँको सोचाई छ । आजभन्दा १७ वर्ष पहिले गुरुङले गण्डकी बि कन्नसर्नबाट २० खाली घार ल्याउनुभएको थियो । कन्नसर्नबाटै आउनुभएको प्रशिक्षक स्व. सानुराम श्रेष्ठले ४ दिनमा दुईबाट ४ घारमा रूपान्तरण गर्नुभएको देखेर त्यही समय गुरुङ घार तथा मौरी विस्तारमा लाग्ने सोच बनाउनुभयो ।

कारपेन्टरको अनुभव समेत रहेकाले आफ्नै फर्निचरबाट गुरुङले मौरीका घारहरू निर्माण गर्दै आउनुभएको छ । मौरीको घारको लागी सिमल, बकाईनो, मौवा, उतिसजस्ता रुख उपयुक्त हुने गुरुङले बताउनुभयो । असोज, कार्तिक, मङ्सिर मौरी विभाजन र चैत्र, वैशाख, जेठ मह काट्ने उपयुक्त समय मानिन्छ । सेरेना जातको मौरीको लागी न्युटन बि टाइपको घार उपयुक्त हुने भन्दै मौरीले राम्रो मह उत्पादन गरेमा १५ दिनमा मह दानीको साथबाट मह निकाल्न सकिने गुरुङले बताउनुभयो । वार्षिक ५० देखि १०० किलो मह उत्पादन हुने गुरुङ बताउनुहुन्छ 

मौरी विकास शाखा ललितपुर, जिल्ला कृषि विकास कार्यालयलगायतका विभिन्न स्थानमा प्रदान गरिएको तालिम समेत लिने मौका गुरुङलाई मिलेको थियो । जिल्ला कृषि विकास कार्यालयबाट १ लाख ८० हजार अनुदान समेत प्राप्त गर्नुभएको गुरुङले बताउनुभयो । दुई छोरी र १ छोरा, श्रीमतीसहितको परिवार मौरीकै माध्यमबाट सहज रुपमा बिताइरहेको गुरुङले बताउनुभयो ।

हरेक दिन हजारौँ युवाहरू विदेशीरहेका बेला ५० वर्षीय गुरुङले आफ्नो सिप, बुद्धि र बललाई आफ्नै ठाउँमा लगानी गर्न युवाहरूलाई आग्रह समेत गर्नुहुन्छ । 

रत्ननगरमा ४५ दिने लोकसेवा तयारी कक्षा सुरु

Previous articleखाद्य पोषण सुरक्षा’ कार्यक्रम : कृषिमा ३० लाख लगानी
Next articleलुम्बिनीको विश्व शान्ति दीप अगाडि कृषि विकास बैङ्कको एटिएम 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।