मन्त्री बडूद्वारा पेशागत सङ्घ संस्थाका प्रतिनिधिहरूसँग छलफल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले निजी क्षेत्र सम्बद्ध उद्योगी व्यवसायीका पेशागत सङ्घ संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । त्यस क्रममा आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र उद्योग, वाणिज्य तथा आपूर्तिमा देखिएका विविध समस्याबारे छलफल भएको थियो।

छलफलमा मन्त्री बडूले निजी क्षेत्रलाई चलायमान राख्न र अर्थतन्त्रलाई सकारात्मक बनाउन सरकार आवश्यक सहजीकरण गर्न तयार रहेको र त्यसका लागि निजी क्षेत्रका पेशागत सङ्घ संस्थाबाट ठोस् सुझाव चाहेको बताउनुभयो ।

उहाँले कृषि नै नेपालमा आर्थिक विकासको सबैभन्दा ठूलो आधार भएकोले ग्रामीण क्षेत्रका महिला तथा युवाहरूलाई यसैमा आकर्षित हुने गरी सरकारले नीतिगत तथा कार्यक्रमगत सुधार गर्ने र निजी क्षेत्रले पनि सरकारको लक्षित उद्देश्यमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस क्रममा मन्त्री बडूले उत्पादनको क्षेत्रमा निजी क्षेत्रको आकर्षण, विदेशी लगानी आप्रवाह अभिवृद्धि, औद्योगिक पूर्वाधारको विकास, औद्योगिक क्षेत्र, औद्योगिक ग्राम र विशेष आर्थिक क्षेत्रको प्रभावकारी सञ्चालन, औद्योगिक जनशक्ति आपूर्ति, घरेलु तथा साना उद्योगलाई औद्योगिक इकोसिस्टममा आबद्धता, एकल विन्दु सेवा केन्द्रको प्रभावकारिता, स्वदेशी उत्पादन, आयातित वस्तुको उपभोग र उपभोक्ता अधिकार बिचको सामञ्जस्यता, रुग्ण भएका सार्वजनिक तथा निजी उद्योगको सञ्चालन मोडालिटी, व्यापार घाटा न्यूनीकरणका लागि अपनाउनुपर्ने तत्कालीन र दीर्घकालीन उपाय लगायत विभिन्न १२ बुँदामा सुझाव माग्नुभएको थियो ।   

कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, महिला उद्यमी महासङ्घ, निर्यात व्यवसायी महासङ्घ, नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घ लगायतका प्रमुख एवं प्रतिनिधिहरूले औद्योगिक विकासका लागि आवश्यक ऐन नियमको समयसापेक्ष सुधार, वाणिज्य नीति, सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य तथा समन्वयमा देखिएका समस्या लगायत विविध विषयमा आवश्यक सुधार गरी औद्योगिक लगानीको उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/18954

Previous articleराप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जान्छ : अध्यक्ष लिङ्देन
Next articleराष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।