युएईको नयाँ नियम: नेपालीलाई अर्को सुचना नआए सम्म प्रवेश निषेध
काठमाण्डौ – यूएईले नेपाली नागरिकको प्रवेशमा रोक लगाउने भएकाे छ । आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको यूएईको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । नेपाली नागरिकसहित अब बङ्गलादेश, पाकिस्तान तथा श्रीलंकन नागरिकहरू यूएई प्रवेश गर्न पाउने छैनन् । नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन् ।
तर यूएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भने यूएई जान पाउनेछन् । यूएई यात्रा गर्दा पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआर रिपोर्ट नेगेटिभ रहेको, विमानस्थलमा पुनः पिसिआर परीक्षण गरिने यूएईले जनाएको छ । यूएई पुगेपछि पनि १० दिन क्वरेण्टीन अनिवार्य बस्नुपर्ने छ भने यूएई पुगेको ५ औँ र ८ औँ दिन पीसीआर परीक्षण गर्नुपर्नेछ ।
अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै
काठमाडौँ / चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा उडान भर्न लागेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन शिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ ।
उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज राति ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र मङ्गलबार अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमका प्रवक्ता करिश्मा श्रेष्ठले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन शिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउन लागिएको जानकारी दिए ।
उनले आजको उडानमा २० थान भेन्टिलेटर ल्याउने भनिए पनि अहिलेसम्म १० थान मात्रै भेण्टिलेटर निगमसँग अपडेट भएको बताए । अहिलेको विपद्को अवस्थामा सरकारबाट निर्देशन भएमा कुनै पनि बेला अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगम तयारी अवस्थामा रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ । रासस
https://ujyaalonepalnews.com/archives/14280


