रत्ननगरमा मेयर पदका उमेदवार सापकोटा भन्छन्– ‘अग्रजको आशीर्वाद खेर जान दिन्न’

रत्ननगर । रत्ननगर नगरपालिकामा सत्ता गठबन्धनका मेयर पदका साझा उमेदवार प्रह्लाद सापकोटाले चुनावी अभियान तीव्र पारेका छन् । गठबन्धनका उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरेसहित घरदैलोमा पुगेका सापकोटाले वृद्धवृद्धासँग आशीर्वाद थाप्दै अग्रजहरुको आशीर्वाद खेर जान नदिने प्रण गरेका छन् ।

शुक्रबार रत्ननगर–३, शान्तिचोकमा घरदैलो अभियानका क्रममा उनले अग्रज ज्येष्ठ नागरिकहरुसँग आशीर्वाद लिँदै कांग्रेससहितको गठबन्धनलाई मतदान गर्न आग्रह गरे । उनले ज्येष्ठ नागरिकहरुलाई घरघरमा स्वास्थ्यकर्मी पठाएर सुगर, प्रेसरलगायतका बिरामीको परीक्षण गरी निःशुल्क औषधि वितरण गर्ने बताए ।

उनले घरदैलोका क्रममा आममतदाताको आशा र भरोसालाई खेर जान नदिने बताए । उनले ६५ वर्षमाथिका सबै नगरवासी र अतिविपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘मैले विगतमा पनि समाजप्रति उत्तरदायी भएर काम गर्दै आएको छु । मेयरमा विजयी भएपछि पनि यो र त्यो नभनीकन समग्र नगरवासीको सेवा गर्नेछु ।’

‘रत्ननगरको समग्र विकास मेरो लक्ष्य हो, सुशासन मेरो उद्देश्य हो र शून्य भ्रष्टाचार मेरो गन्तव्य हो’, उनले भने, ‘आममतदाताको विश्वास कायम राख्दै म कहिल्यै व्यक्तिवादी बनेर निर्णय गर्ने छैन ।’

उनले आमा, दिदीबहिनीसँग मत माग्दै आधा आकाश ढाक्ने महिलावर्गको सम्मानका लागि महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न आतुर रहेको बताए । रत्ननगरमा २५ वर्षदेखि पूरा नभएका नगरवासीका सपनालाई आफूले मूर्तरुप दिने र त्यसका लागि विषयविज्ञहरुसँग आवश्यक परामर्श गरी समग्र नगरवासीको हकहित र सुरक्षाका लागि समर्पित रहने बताए ।

आफूले बोलेरभन्दा पनि काम गरेर देखाउने भएकाले नगरवासीले आफूलाई मतदान गर्न उनले आग्रह गरे ।

https://ujyaalonepalnews.com/archives/19801

Previous articleआर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट बनाइदै
Next articleखैरहनीमा एमालेको घरदैलो आक्रमक 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।