निराजन घिमिरे, वैशाख २४- चितवनको रत्ननगर नगरपालिकामा राजनितिक दलका प्रचार प्रसारमा सहभागी हुने गरेको भेटिएको छ । निर्वाचन आचारसंहिता र शिक्षण पेशाको मर्यादाविपरीत राजनीतिक दलको पक्षमा भोट माग्दै केहि शिक्षकहरु घरदैलो अभियानमा भेटिएका हुन् ।
“निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ३ को ९ (झ) मा “सामुदायिक विद्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा संचालित विश्वविद्यालय वा त्यसमा आबद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नहुने वा प्रचारप्रसार गर्न नहुने” स्पष्ट व्यवस्था गरेको भएपनि शिक्षकहरु आचारसंहिता विपरित पार्टीको झण्डा बोकेर घरदैलो अभियानमा लागेका हुन् ।


काँग्रेस, एमाले, माओवादी, समाजवादी लगायत पार्टी निकट शिक्षकहरु उम्मेदवारलाई सघाउन घरदैलो अभियानमा व्यस्त देखिन्छन् । ‘राजनीतिक दलसम्बन्धी ऐन, निजामती सेवा ऐन, शिक्षा ऐन लगायत सरकारी सेवामा संलग्न हुने कर्मचारी सम्बन्धी विभिन्न ऐन लगायत राजनीतिक दलहरुले पारित गरेका विधानहरुमा पनि बहाल शिक्षकहरुले राजनीतिमा भाग लिन नपाउने प्रावधान रहेको पाईन्छ ।
शिक्षक राष्ट्र सेवक कर्मचारी र देशमा नागरिकलाई शिक्षित बनाउने गुरुत्तर दायित्व बोकेका वर्ग हुँदा निजहरूलाई कुनै पनि दलको सदस्य भएर वा सदस्य समान भै राजनीतिमा भाग लिने कानुनसम्मत होइन । तर रत्ननगरका शिक्षकहरु विद्यार्थी भर्ना अभियान संचालन गर्नुपर्ने बेलामा राजनीतिक दलको कार्यकर्ता बनेर मैदानमा खटिएका पाईएको छ।
शिक्षकहरूले स्वविवेकले राजनीति र सरकारी शिक्षणमध्ये एक रोज्नु त जरुरी छँदै छ, दलहरूले पनि आफूलाई कानुनअनुरूप सञ्चालन गर्न शिक्षकहरूलाई सदस्यता दिने कार्य बन्द गर्नुपर्छ । देश र विद्यार्थीको भविष्यप्रति इमानदार बन्नकै निम्ति दलहरूले यसो गर्नु अनिवार्य छ ।
शिक्षकहरूको संलग्नताले सम्बन्धित दलको तत्कालीन स्वार्थपूर्ति त होला, तर राष्ट्रका निम्ति भने वर्तमानमा मात्र होइन, भविष्यमा पनि यसले ठूलो घात पुर्याउँछ । हिजो पञ्चायतकालमा गाउँ तथा दूरदराजमा शिक्षकबाहेक अरू पढेलेखेका व्यक्तिहरू कमै रहेको परिप्रेक्ष्यमा राजनीतिक जागरणका निम्ति शिक्षकहरूको भूमिका जरुरी थियो होला, भलै त्यसले पनि देशको शैक्षिक विकासमा कस्तो प्रभाव पर्यो भन्ने पाटो आफैंमा बेग्लै छ, तर अहिलेको परिस्थितिमा शिक्षकहरूलाई राजनीति गर्न प्रेरित गर्नु भनेको मुलुकको भविष्यप्रति सर्वथा गैरजिम्मेवार बन्नु हो, र देशको शैक्षिक अवस्थालाई अझ ओरालो लगाउन दुरुत्साहन गर्नु हो ।
https://ujyaalonepalnews.com/archives/19854


