राष्ट्रिय परिचयपत्र छपाइ सुरु

काठमाडौं- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो ।

विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि हिजोदेखि छपाइ प्रक्रिया सुरु गरेको विभागका महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी आठ लाख आउने क्रममा रहेको विभागले जनाएको छ । यो वर्षभरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य विभागले लिएको छ ।

मेसिनले घण्टामा ११ कार्ड छाप्ने भएकाले परिचयपत्र फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिट्टै कार्ड पाउने विभागले जनाएको छ । विभागले अहिलेसम्म परिचयपत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ । अभियानमार्फत ५६ लाख ५३ हजार २०९ र इकाइमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ ।

विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचयपत्रको अभियान सम्पन्न गरिसकेको छ । त्यस्तै ३३४ स्थानीय तह र तीन हजार ४५ वडामा अभियान सम्पन्न गरिएको महानिर्देशक भट्टराइले जानकारी दिनुभयो ।

अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ ।

राष्ट्रिय परिचयपत्रको एकीकृत सेवामा राहदानी विभागसँग एकीकृत प्रणाली भई राष्ट्रिय परिचयपत्रमार्फत ई–पासपोर्ट लागू भइसकेको छ । ‘सिएमआइएस’ प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको र भिइआरएसपी–एमआइएस प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको, सञ्चयकोष र आन्तरिक राजस्वको प्रणालीसँग आबद्धताको चरणमा रहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।-

https://ujyaalonepalnews.com/archives/19916

Previous articleवैशाख ३० गते सार्वजनिक बिदा
Next articleभारतसँग जोडिएका सीमा नाका आजदेखि बन्द हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।