‘उद्धार उडानमा बन्देज गरिएको छैन’: प्राधिकरण

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको स्पष्ट पारेको छ । प्राधिकरणले हालै दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’ भित्र मात्रै एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो ।

मनसुनमा सम्भावित हवाई दुर्घटनालाई मध्यनजर गर्दै उडान सुरक्षार्थ प्राधिकरणले उडानमा कडाइ गरेको थियो । प्राधिकरणको उक्त निर्णयको आलोचना भएको थियो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन अवधिका लागि अपरेसन आवरभित्र मात्रै उडान गर्नेगरी गरिएको निर्णय भएको र मौसम अनुकूल उद्धार उडानमा कुनै बन्देज नगरिएको स्पष्ट पार्नुभयो ।

“दुर्गम क्षेत्रको व्यावसायिक उडानमा मात्रै अपरेसन आवर लागू गरिएको हो । उद्धार उडानका लागि बन्दैज छैन, मौसमअनुकूल इनरुटवेदर हेरेर एयरलाइन्सले यस्तो उडान गर्न सक्नेछन्”, प्राधिकरणका प्रवक्ता निरौलाले भन्नुभयो ।

मौसम प्रतिकूल हुँदा उडानमा समस्या भएको र यस्तो समयमा दुर्घटनाको जोखिम बढ्नसक्ने भन्दै अपरेसन आवरमा मात्रै उडान गर्न प्राधिकरणले आन्तरिक उडानका एयरलाइन्सलाई सर्कुलर गरेको थियो ।

प्राधिकरणका अनुसार सामान्यतः दुर्गम क्षेत्रका विमानस्थलमा बिहान ६:३० देखि मध्याह्न १२:३० को समयावधिलाई अपरेसन आवर मानिन्छ ।

https://ujyaalonepalnews.com/archives/30307

Previous articleसरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैनः उपप्रधानमन्त्री खड्का
Next articleबजारलाई थप व्यवस्थित गर्न कामपाले भदौ १ देखि नियमित अनुगमन गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।