
काठमाडौँ । नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीज्यूसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमका बीच कायममुकायम प्रधानन्यायाधीश कार्कीले उहाँहरूलाई शपथ ग्रहण गराउनुभयो । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०८ (१) मा बैङ्कका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।

मन्त्रिपरिषद्को बैठकले जेठ ६ गते सिवाकोटी र आचार्यलाई बैङ्क सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको थियो । सिवाकोटी बैङ्कका पूर्व डेपुटी गभर्नर र आचार्य पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथन न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बगाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ।
ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैङ्किङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषद्ले बैङ्कको सञ्चालकमा नियुक्त गर्ने प्रावधान छ । सञ्चालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ।
https://ujyaalonepalnews.com/archives/20675


