
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ ।
विनियोजन विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले सबैखाले खानेपानीको गुणस्तर कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री चौधरीले खानेपानीको गुणस्तर परीक्षणका लागि सबै सङ्घीय खानेपानी कार्यालयमा पानी परिक्षण प्रयोगशाला स्थापना गरिने बताउनुभयो ।
मन्त्री चौधरीले कोही पनि नागरिक शुद्ध खानेपानीबाट वञ्चित हुन नपरोस् भनी एक घर एक धारा कार्यक्रम अघि सारिएको स्पष्ट पार्नुभयो ।
मन्त्री चौधरीले विज्ञहरूको सुझाव अनुसार नै वर्षायाममा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि मेलम्ची आयोजना बन्द गरिएको जानकारी दिनुभयो ।
वर्षायाम सकिए लगत्तै मेलम्ची आयोजना सञ्चालनमा ल्याइने भन्नुहुँदै मन्त्री चौधरीले काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि वैकल्पिक उपायको खोजी गरिने बताउनुभयो ।
यस्तै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै परराष्ट्र मन्त्री डा. नारायण खड्काले सरकारले लिएको नीतिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अझ बढेको बताउनुभयो ।
मन्त्री खड्काले परराष्ट्र सम्बन्ध सञ्चालनमा राष्ट्रिय सहमति हुनुपर्नेमा सरकार दृढ रहेको भन्दै मन्त्री खड्काले अन्तर्राष्ट्रिय,क्षेत्रीय तथा उपक्षेत्रीय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको उल्लेख गर्नुभयो ।
https://ujyaalonepalnews.com/archives/21574


