ठूलो परिमाणको हिरोइनसहित सातजना महिला पक्राउ

काठमाडौं- नेपाल प्रहरीले लागुऔषधसहित सात विदेशीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरी ५१ किलोग्राम लागुऔषधि हेरोइनसहित सात विदेशी नागरिकलाई सार्वजनिक गरेको हो ।

ब्युरोका प्रमुख तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले पहिलो पटक ठूलो मात्रामा लागुऔषध हिरोइनसहित सात दक्षिण अफ्रिकन महिलालाई ठमेलको विभिन्न होटेलबाट पक्राउ गरिएको जानकारी दिनुभयो । यसअघि प्रहरीले २०७९ वैशाख ३ गते ७ किलोग्राम लागुऔषध पक्राउ गरेको थियो ।

उहाँले पक्राउ पर्नेमा २९ वर्षीया सिबिसी थानडेकिल, ४६ वर्षीया मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बा, ३९ वर्षीया साबालाला खान्यीसिल भ्योन्नी, ३६ वर्षीया रोशिना ननक्वेल जान्तिय, २९ वर्षीया मालान्को मौरिन माथिबा, ३७ वर्षीया मोरोसी सुजन कोफु र ३० वर्षीया मार्लिज बाडेनहर्सट भएको जानकारी दिनुभयो ।

सिबिसी थानडेकिल र मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बाबाट १६ किलो, साबालाला खान्यीसिल भ्योन्नीबाट आठ किलो, रोशिना ननक्वेल जान्तियबाट आठ किलो, मालान्को माउरिन माथिबाबाट सात किलो हिरोइन बरामद गरिएको छ ।

मोरोसी सुजन कोफुबाट चार किलो सेतो हिरोइन र दुई किलो खैरो हिरोइन तथा मार्लिज बाडेनहर्सटबाट छ किलो सेतो हिरोइन पक्राउ गरिएको छ । पक्राउ गरिएकामध्ये मोरोसी सुजन कोफु कतार एयरलाइन्सबाट दोहा हुदै काठमाडौँ आएको र अन्य छ भने दुबई एयरलाइन्सबाट दुबई हुँदै काठमाडौँ आएका हुन् ।

उनीहरुले लागुऔषध हिरोइन भारत लैजानका लागि नेपाल ल्याएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । “नेपाल यस्तो प्रकारको हिरोइनको प्रयोगकर्ता खासै छैनन्”, उहाँले भन्नुभयो, “हाम्रो प्रारम्भिक अनुसन्धानले भारतका लागि हिरोइन लैजानका लागि उनीहरुले काठमाडौँ ल्याएका हुन् ।”

हिरोइनका तस्कर गर्ने समूहलाई नेपालमा नै बेच्ने उनीहरुको योजना रहेको उहाँले बताउनुभयो । “किन्न आउने मान्छेसँग सुटकेश तथा झोला साटासाट गर्ने विगतको अभ्यास देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले पनि त्यस्तो सुटकेश तथा झोला साटासाट गर्ने योजना रहेको थियो ।”

ती हिरोइनको नेपाली मूल्य एक अर्ब दुई करोड रहेको छ । सात जनामध्ये ४६ वर्षीया मुरियल तीन पटक नेपाल आएको उहाँले जानकारी दिनुभयो । उहाँले ती सात जनालाई छुट्टाछुट्टै होटलबाट पक्राउ गरिएको बताउनुभयो ।

फरक फरक व्यक्तिको लागुऔषध लिएर ती महिला नेपाल आएका थिए । पक्राउ परेकामध्ये सिबिसी थानडेकिल र मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बा दुई जनासँग आएकोले मात्र चिनजान रहेको तथा अन्य फरकफरक मितिमा नेपाल आएकाले एक अर्कालाई नचिन्ने गरेको उहाँले बताउनुभयो । मालान्को मौरिन माथिबा भने केही मानिससँग सुकुटे पुगेको उहाँले बताउनुभयो ।

ती महिलासँग नेपाली पैसा र सिम प्रयोग गरेकोसमेत पाइएको अनुसन्धानमा देखिएको छ । ती नागरिकलाई अहिले लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।-

https://ujyaalonepalnews.com/archives/21688

Previous articleमङ्कीपक्सको आशङ्कामा एक बिरामीको उपचार
Next articleटेक्ससका लागि पर्यटन दूतमा एनआरएन अभियानकर्मी सुवेदी नियुक्त
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।