पोखरा । पोखराको पाँचतारे सुविधायुक्त फूलबारी रिसोर्ट लिलामी हुने भएको छ । ऋण लिएर खोलिएको फूलबारी रिसोर्टले वर्षाैंसम्म पनि ऋण नतिरेपछि लिलामीमा चढेको हो ।
नेपाल बैङ्कले शुक्रवार सार्वजनिक सूचना प्रकाशित गर्दै साउन ४ गतेभित्र सिलबन्दी बोलपत्र माग गरेको छ । सहवित्तीयकरण कर्जाअन्तर्गत नेपाल बैङ्कले पोखरामा रहेको पाँचतारे डिलक्स होटल दि फूलबारी लिमिटेडले सञ्चालन गरेको होटल तथा होटेलले चर्चेको र लिखित तमसुक गरेको जग्गा बिक्री गरेर ऋण असुली गर्ने प्रक्रिया अघि बढाएको हो ।

पटक पटक पत्र पठाउँदा पनि ऋण नतिरेकाले लिलामीको प्रक्रिया अघि बढाएको नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार ३५ दिनभित्र होटेलले ऋण तिरेर आफ्नो सम्पत्ति फिर्ता लैजान पनि पाउँछ । फूलबारी रिसोर्टले २०५५ मा एक अर्ब ३१ करोड रुपैयाँ कर्जा लिएको थियो । हाल त्यसको साँवा–ब्याजसहित करिब २० अर्ब पुगिसकेको बताइएको छ ।
होटेलले नेपाल बैङ्कका साथै तत्कालीन नेपाल औद्योगिक विकास निगम ( हाल राष्ट्रिय वाणिज्य बैङ्क) र कर्मचारी सञ्चय कोषबाट लिएको ऋण र सोको सावाँ र ब्याज गरी ३ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकी छ । होटेलका सञ्चालक पीयूषबहादुर अमात्यले कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सम्झौताको सर्तहरू समेत पालना नगरेकाले होटल लिलामी गर्नुपरेको सिइओ अधिकारीले बताउनुभयो । तिर्ने सर्तमा धेरै पटक ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण गरिएको उहाँले बताउनुभयो ।
बैङ्कले पोखरा महानगरपालिका–१५ मा रहेको होटल तथा होटेलले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक पीयूषबहादुर अमात्यको नाममा रहेको ६ रोपनी र गङ्गा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्ने छ । रिसोर्ट ४ सय रोपनी जग्गामा फैलिएको छ । रिसोर्टमा १६५ कोठाहरू छन् । पाँचतारे प्लस डिलक्स समेत रहेको यो रिसोर्टलाई नेपालमा मात्र नभई दक्षिण एसियाकै नमूना मानिन्थ्यो ।
अमात्य ग्रुपले सञ्चालन गरेको उक्त रिसोर्ट २०५३ सालमा नेपाल बैङ्कको अगुवाइमा एनआईडीसी र सञ्चय कोषले रिसोर्टमा १ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । नेपाल बैङ्कले ६५ करोड, एनआईडीसीले ३५ करोड रुपैयाँको ऋण लगानी गरेका थिए । बाँकी रकम सञ्चय कोषले लगानी गरेको थियो ।
सुरुका पाँच वर्ष रिसोर्ट राम्रैसँग चले पनि सन् २००४ पछिका वर्ष भने सन्तोषजनक हुन सकेन । त्यसयता समय समयमा भएका जहाज अपहरण, ऋतिक रोशन काण्ड, माओवादी सशस्त्र द्वन्द्वको सुरुवात र चरमोत्कर्ष, दरबार हत्याकाण्ड लगायतका घटना क्रमले नेपालमा पर्यटकहरूको सङ्ख्या घटेसँगै उक्त रिसोर्टमा प्रत्यक्ष असर परेको थियो ।
विभिन्न समस्यासँगै पर्यटकको आगमन घट्दै गएसँगै प्रभावित बनिरहेको रिसोर्ट अन्ततः बन्द हुन पुगेको थियो । दि फूलबारीले सरकारलाई ३ अर्ब भन्दा बढी रकम कर तिर्न बाँकी रहेको छ ।
https://ujyaalonepalnews.com/archives/21750


