भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाणको निर्देशन

रुपन्देही  । गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिनुभएको छ । 

जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले भूमि आयोग र आयोगका जिल्ला पदाधिकारीलाई परिणाममुखी काम गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय भूमि आयोग, काठमाडौँको आयोजनामा बुटवलमा आज भएको जिल्ला समितिका पदाधिकारीका लागि लुम्बिनी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री खाणले सबै नागरिकलाई घरजग्गाको स्वामित्व दिलाउनु आयोगको पहिलो दायित्व भएको बताउनुभयो । 

सरकारले राजनीतिक पूर्वाग्रह राखेर यसअघिको भूमि आयोग खारेज गरेको नभई संविधानले व्यवस्था गरेअनुरूप सबै प्रक्रिया पूरा गरेर भूमि समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको उहाँले उल्लेख गर्नुभयो । 

“सरकारका तर्फबाट के गर्नुपर्छ, सबै सहयोग गर्न हामी तयार छौँ, तपाईँहरू काम गर्नुस्,” मन्त्री खाणले भन्नुभयो । स्थानीय तहका नयाँ जनप्रतिनिधि पनि आफ्नो पालामा भूमिहीनको समस्या समाधान होस् भन्ने दृढताका साथ लागिपरेको उल्लेख गर्दै उहाँले आयोग र स्थानीय पालिकाको समन्वयमा अव्यवस्थित बसोबास र भूमिहीनको समस्या समाधानका लागि तत्काल अघि बढाउन सुझाव दिनुभयो ।

सरकारका कुनै पनि कार्यालयले भूमि आयोगलाई सहयोग दिनु पहिलो दायित्व भएकाले सबैसँग सहयोग लिएर भूमिहीनलाई भूमिको व्यवस्था गरेर आफ्नो कामको सुरुआत गर्न मन्त्री खाणले पालिकाका प्रमुखहरूलाई आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले लालपुर्जा वितरणको काम छिटो थाल्न आयोगका पदाधिकारीसँग आग्रह गर्दै प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । 

आयोगका अध्यक्ष केशव निरौलाले आयोगले सबै प्रक्रिया पूरा गरी छिट्टै भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगरमा रहेका भूमिहीन तथा सुकुम्वासीलाई लालपुर्जा वितरणका लागि प्रक्रिया अघि बढाएको उल्लेख गर्दै आयोगसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । रासस

रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो चितवनको; प्रहरी भन्छ दोषीलाई कारबाही हुन्छ

Previous articleसामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी
Next articleपोखराको पाँचतारे फूलबारी रिसोर्ट लिलामीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।