उद्योगमन्त्री बडूद्वारा चोभार सुख्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहको अवलोकन गर्नुभयो । 

मन्त्री बडूसमक्ष नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखा परेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा जानकारी दिनुभएको थियो । 

मन्त्री बडूले काठमाडौँ केन्द्रित व्यवसायीका लागि सुख्खा बन्दरगाह मार्फत, एकीकृत जाँच चौकी, गोदाम व्यवस्थापन, सुरक्षा व्यवस्था लगायतका सुविधाबाट व्यापारी, व्यवसायीहरूको समय र लागत कम हुन गई आयात निर्यातमा महत्त्वपूर्ण भूमिका खेल्ने चोभार सुख्खा बन्दरगाहलाई सरकारले स्थापना गरेको लक्ष्यअनुसार सञ्चालन गर्न सञ्चालक समितिलाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिनुभयो । उहाँले गत चैत २२ गतेदेखि सञ्चालनमा आएको बन्दरगाहमा वीरगञ्ज नाकाबाट उपत्यका लगायत जिल्लाहरूमा आउने सम्पूर्ण ट्रक एवं कन्टेनरहरू नाकामा नै ‘डिजिटल लक’ भई सोझै आउनुपर्नेमा त्यसरी आउने नगरेको र हालसम्म १२ वटा कन्टेनर मात्रै आएको अवस्थातर्फ विशेष चासो राख्नुहुँदै यस सन्दर्भमा अध्ययन, छलफल र सम्बद्ध पक्षहरूसँग समन्वय गरी सुख्खा बन्दरगाहको पूर्ण क्षमतामा सञ्चालन गर्नेतर्फ क्रियाशील हुनसमेत निर्देशन दिनुभयो । 

२२० रोपनीमा फैलिएको बन्दरगाहको प्रयोग हुनसके सरकार र व्यवसायी दुवै पक्षले लाभ लिन सक्ने भएकोले यसको अधिकतम लाभ लिने गरी निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

आविष्कार केन्द्रमा पहिलो पटक बहालवाला मन्त्री

मन्त्री बडूले आजै युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र रहेको स्थल त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुर पुगेर त्यहाँ भइरहेका गतिविधिहरूको समेत अवलोकन गर्नुभयो। 

पुनले स्थापना गरेको आविष्कार केन्द्रले नेपालमै नव प्रवर्तक युवाहरूलाई समाजको समाजको आवश्यकतानुरुप विविध उत्पादन र सेवा क्षेत्रमा आविष्कारको माध्यमबाट उल्लेख्य कार्य गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको र यसलाई उद्यमशीलतासँग जोड्दै थप बजार विस्तार गर्न सरकारले पनि आवश्यक सहकार्य गर्ने मन्त्री बडूले प्रतिबद्धता व्यक्त गर्नुभयो। 

कोरोना महामारीको समयमा पीपीई, भेन्टीलेटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएर आविष्कार केन्द्रले नेपाली जनता र सरकारलाई ठूलो सहयोग गरेको र कृषि औजार, औद्योगिक मेसिन, सूचना प्रविधिको क्षेत्रमा गरिरहेको प्रयासले नेपालमा रोजगारी वृद्धि र विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी आर्थिक वर्षमा आविष्कार केन्द्रसँग मन्त्रालयले सहयोग र सहकार्य गर्ने योजनासमेत बनाइरहेको पनि मन्त्री बडूले जानकारी दिनुभयो । 

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पहिलो पटक बहालवाला मन्त्री आफै आविष्कार केन्द्रमा आएर हौसला प्रदान गरेकोमा धन्यवाद दिनुहुँदै सरकारले विकास बजेटको कूल अंशमध्ये १ प्रतिशत रकम आविष्कारको क्षेत्रमा छुट्याएर काम गर्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि ठोस पहल गर्नसमेत आग्रह गर्नुभयो।

अवलोकन भ्रमणमा मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेयलगायतको सहभागिता रहेको थियो।

https://ujyaalonepalnews.com/archives/22157

Previous articleराष्ट्रियसभाले पनि पारित गर्‍यो विनियोजन विधेयक
Next article११ महिनामा १६ अर्ब बढीको फलफूल आयात
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।