‘आयात प्रतिस्थापनमा कृषि क्षेत्रको योगदान बढाउनुपर्छ’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको बढ्दो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै मुलुकको आयात प्रतिस्थापनमा कृषि क्षेत्रको योगदान बढाउनुपर्ने बताउनुभएको छ ।

धान दिवसको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको कृषि विज्ञहरूसँगको छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल कृषि प्रधान देश भएकाले राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाउनु जरुरी रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले देशमा विद्यमान हालको व्यापार घाटाको अवस्थालाई निरुत्साहित गर्न पनि कृषिको व्यवसायीकरण र यान्त्रिकीकरण गर्दै कृषि पैदावारको बजार व्यवस्थापनबाट सहयोग दिन सकिने भएकाले यसतर्फ सरोकारवाला सबैले विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले अब हरेक क्षेत्रमा बढ्दै गरेको आयातको अवस्थालाई कम गर्दै देशबाट निर्यात गर्नसक्ने गरी हरेक क्षेत्रमा उत्पादन बढाउने गरी काम गर्नुपर्ने बेला आइसकेको पनि बताउनुभयो ।

त्यस अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यस अघि कृषकले प्राप्त गर्ने अनुदान वास्तविक कृषकहरूसम्म पुग्न नसकिरहेको अवस्थालाई ध्यानमा राखेर सरकारले आगामी वर्षको बजेटमा कृषक प्रोत्साहन कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।

मन्त्री यादवले अब रासायनिक मल भन्दा पनि अर्ग्यानिक मलको व्यवस्थापन र अर्ग्यानिक खेतीमा जोड दिने गरी सरकारले काम गरिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा कृषि क्षेत्रका विज्ञहरूले नेपालमा चैते धानको क्षेत्रफल बिस्तार गरेर धान उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने भएकाले अब त्यसको बिस्तारमा लाग्नु जरुरी भइसकेको बताउनुभयो ।

मुलुकको व्यापार घाटा कम गर्न कृषि क्षेत्रको चक्लाबन्दी गरी व्यवस्थापन गर्न जरुरी रहेको र सामूहिक कृषि खेतीको बिस्तार पनि आवश्यक भएको विज्ञहरूले त्यस अवसरमा उल्लेख गर्नुभयो ।

नेपालमा हाल वर्षेनी कुल ८३ लाख मेट्रिक टन धानको आवश्यकता रहेकोमा गत वर्ष ५१ लाख मेट्रिक टन धान मात्र नेपालमा उत्पादन भएको थियो ।

https://ujyaalonepalnews.com/archives/22256

Previous articleएन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई
Next articleमहँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।