मुलुकको समृद्धिमा निजी क्षेत्रको सहयोग अपरिहार्य मुख्यमन्त्री राई 

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापनामा गर्न चाहेमा आवश्यक  सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारण  सभाको आज विराटनगरमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले मुलुकको कृषि उत्पादनमा वृद्धि गर्नका लागि अन्य उद्योग सरह मल उद्योग स्थापनामा सहज व्यवस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।  

उहाँले  राष्ट्रियताको लागि मुलुक आर्थिक रुपमा  सम्पन्न हुनुपर्नेमा जोड दिनुहुँदै यसका लागि निजी क्षेत्रलगायत सबैसँग हातेमालो गर्न सरकार तयार रहेको बताउनुभयो । 

उत्पादन, पुँजी विकास  र राजश्व सङ्कलनमा निजी क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले वर्तमान अवस्थामा राज्य शासक होइन व्यवस्थापनको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । 

सरकारले ऐन कानुनमा सहजता, शान्ति सुरक्षा र पूर्वाधार उपलब्धताले मुलुकमा लगानी मैत्री वातावरण बनेकाले  उद्योगीहरूलाई औद्योगिक क्षेत्रमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले सङ्घीयतालाई संस्थागत गर्न उत्तरदायी भएर परिवर्तनकारी सङ्घीय र प्रदेशको बजेट आएको छ भन्दै यसमा निजी क्षेत्रको अधिकांश सुझाव समेटिएको बताउनुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विप्रेषण र राजश्वको आधारमा मुलुक दिगो रुपमा सञ्चालन हुन नसक्ने बताउँदै स्वदेशी कच्चा पदार्थ प्रयोग हुने उत्पादनशील उद्योगलाई आवश्यक सहयोग गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले प्रदेश सरकारले वाणिज्य पूर्वाधार गरेको लगानीले निजी क्षेत्रलाई उद्योग व्यापार स्थापनामा सहयोग पुगेको बताउनुभयो  ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कृषि क्षेत्रमा यान्त्रीकरण, व्यवसायीकरणले उत्पादन वृद्धि हुने चर्चा गर्दै  भारतको वथनाहाबाट विराटनगरको बुधनगरसम्म चाँडै सञ्चालन हुने ढुवानी रेल सेवाबाट औद्योगीकरणमा मद्दत पुग्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले केही बर्ष अगाडि सुनसरी मोरङ औद्योगिक क्षेत्र केन्द्रको रुपमा रहेकोमा वर्तमान अवस्थामा चौथो स्थानमा पुगेकोमा चिन्ता व्यक्त गर्दै किसानलाई समयमा रासायनिक मल प्राप्त गर्नका लागि निजी क्षेत्रलाई मल आयात अनुमति दिन आग्रह गर्नुभयो । 

उहाँले  मुलुक आगामी दिन आर्थिक रुपमा चुनौतीपूर्ण हुने बताउँदै राष्ट्रप्रति जिम्मेवारी रहँदै निजी क्षेत्रले यसको समाधानका लागि आवश्यक सुझाव दिएको जानकारी दिनुभयो ।

सङ्घका प्रदेश अध्यक्ष टिकाराज ढकाल, सङ्घका केन्द्रीय उपाध्यक्ष  अञ्जन श्रेष्ठ, केन्द्रीय सदस्य द्वय अविनाश वोहरा, डिल्ली बस्नेत, पूर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकाल, पूर्व उपाध्यक्ष किशोर प्रधान, पूर्व प्रदेश अध्यक्ष नरेन्द्र खड्का, बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठ,लुम्बिनी प्रदेश अध्यक्ष श्रीकृष्ण शर्मा,उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, भोजपुर जिल्ला अध्यक्ष कर्ण मोक्तान लगायतले उद्योग स्थापनामा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।   

https://ujyaalonepalnews.com/archives/22308

Previous articleउत्कृष्ट कृषक पुरस्कारबाट चार जना किसानलाई सम्मान 
Next articleसाझेदारी बनद्वारा साढे तीन लाख बढी बिरुवा उत्पादन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।