डाक्टरले मृत घोषणा गरेका बालकले आँसु झारेको दाबी, अस्पतालमा तनाव

मकवानपुरस्थित हेटौँडा अस्पतालमा करेन्ट लागेर घाइते भएका बालकको चिकित्सको लापरबाहीका कारण मुत्यु भएको भन्दै लफडा भएको छ । बालकका परिवार र आफन्तहरूले अस्पतालमा शनिवार साँझ नाराबाजी गरेका छन् । उपचारका लागि ल्याइएका बालकको चिकित्सको लापरबाहीले मृत्यु भएको भन्दै पीडित पक्षले नाराबाजी गरेको हो । अस्पतालमा सम्भावित घटनालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।

हेटौंडा–९ का १२ वर्षीय सुमन लामालाई दिउसो माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर अर्धचेत भएका लामालाई उपचारका लागि करिब ३ बजे अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको केही बेरमा उपचारमा खटिएका चिकित्सकहरूले बालकलाई मृत घोषणा गरेका थिए । तर, घाइते बालकलाई मृत घोषणा गरेर उपचार नै नगरेका कारण लामाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ ।

पीडित परिवारका एक महिला सदस्यका अनुसार बालकको पोष्टमार्टन गर्न अस्पतालले तयारी गरिसकेपछि नारायणगढबाट आउँदै गरेका मृतक बालकका बुवालाई पर्खिएको थियो । पर्खिने क्रममा तीन महिला आफन्तले बालकको हातगोडा मुसारेकी थिइन् । हातगोडा तातो नै रहेको भन्दै महिला चिच्याएपछि अस्पतालमा जम्मा भएका परिवारका सदस्यहरूले बालकको हातगोडा मसार्न थालेपछि साँझ ६ बजेको समयमा बालकले आँसु झारेको र स्वास भित्र लिएकाे ती महिलाले दाबी गरेकी छन् ।

‘मृत्यु भइसकेको मान्छेको शरिर चिसो हुन्छ । तर उसको हातगोडा तातो नै थियो । हामीले हातगोडा मसार्दा उसले आँखाबाट आँसु झारेको थियो ।’ ती महिलाले भनेकी छन् । ‘बच्चा जिउँदै छ भनेर डाक्टरलाई बोलाएको तर, उ बाँच्न सकेन । अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको लामो समयसम्म पनि उसको चेत रहेछ,’ उनले भनिन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा रामचन्द्र सापकोटाले ४ः५५ मा बालकलाई मृत घोषणा गरेको जानकारी दिए । बालकको अस्पतालमा ल्याउनु अगावै मृत्यु भएको उनले बताए । ‘बालकको अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको थियो । तर, पनि बालकलाई बचाउन सकिन्छ भनेर हामीले हरसम्भव कोशिस गरेका हौं । ३ पटकसम्म इसीजी गरेर हेर्दा पनि बालकको अवस्था राम्रो नभएपछि मृत घोषणा गरिएको हो,’ सापकोटाले भने । समयमै अस्पताल ल्याई पुर्‍याएको भए बालक बाच्न सक्ने उनको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/23759

Previous articleप्रेमीको श्रीमती कुट्ने पूर्व राज्यमन्त्रीको गुनासो, एकराजले पैसा फिर्ता गरेन, पार्टीले पनि हेरेन
Next articleशरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न लागेकी निहारिकालाई प्रहरीले रोक्यो, अस्पताल भर्ना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।