मकवानपुरस्थित हेटौँडा अस्पतालमा करेन्ट लागेर घाइते भएका बालकको चिकित्सको लापरबाहीका कारण मुत्यु भएको भन्दै लफडा भएको छ । बालकका परिवार र आफन्तहरूले अस्पतालमा शनिवार साँझ नाराबाजी गरेका छन् । उपचारका लागि ल्याइएका बालकको चिकित्सको लापरबाहीले मृत्यु भएको भन्दै पीडित पक्षले नाराबाजी गरेको हो । अस्पतालमा सम्भावित घटनालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।
हेटौंडा–९ का १२ वर्षीय सुमन लामालाई दिउसो माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर अर्धचेत भएका लामालाई उपचारका लागि करिब ३ बजे अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको केही बेरमा उपचारमा खटिएका चिकित्सकहरूले बालकलाई मृत घोषणा गरेका थिए । तर, घाइते बालकलाई मृत घोषणा गरेर उपचार नै नगरेका कारण लामाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएको छ ।
पीडित परिवारका एक महिला सदस्यका अनुसार बालकको पोष्टमार्टन गर्न अस्पतालले तयारी गरिसकेपछि नारायणगढबाट आउँदै गरेका मृतक बालकका बुवालाई पर्खिएको थियो । पर्खिने क्रममा तीन महिला आफन्तले बालकको हातगोडा मुसारेकी थिइन् । हातगोडा तातो नै रहेको भन्दै महिला चिच्याएपछि अस्पतालमा जम्मा भएका परिवारका सदस्यहरूले बालकको हातगोडा मसार्न थालेपछि साँझ ६ बजेको समयमा बालकले आँसु झारेको र स्वास भित्र लिएकाे ती महिलाले दाबी गरेकी छन् ।
‘मृत्यु भइसकेको मान्छेको शरिर चिसो हुन्छ । तर उसको हातगोडा तातो नै थियो । हामीले हातगोडा मसार्दा उसले आँखाबाट आँसु झारेको थियो ।’ ती महिलाले भनेकी छन् । ‘बच्चा जिउँदै छ भनेर डाक्टरलाई बोलाएको तर, उ बाँच्न सकेन । अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको लामो समयसम्म पनि उसको चेत रहेछ,’ उनले भनिन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा रामचन्द्र सापकोटाले ४ः५५ मा बालकलाई मृत घोषणा गरेको जानकारी दिए । बालकको अस्पतालमा ल्याउनु अगावै मृत्यु भएको उनले बताए । ‘बालकको अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको थियो । तर, पनि बालकलाई बचाउन सकिन्छ भनेर हामीले हरसम्भव कोशिस गरेका हौं । ३ पटकसम्म इसीजी गरेर हेर्दा पनि बालकको अवस्था राम्रो नभएपछि मृत घोषणा गरिएको हो,’ सापकोटाले भने । समयमै अस्पताल ल्याई पुर्याएको भए बालक बाच्न सक्ने उनको भनाइ छ ।
https://ujyaalonepalnews.com/archives/23759


